Logo

१ फाल्गुण, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ २१ वर्षपछि रुकुम पूर्वको ऐतिहासिक गाउँ लावाङ पुग्नुभएको छ ।

जनयुद्ध सुरु भएको ३० वर्ष पुरा भएको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लावाङको माटो र सङ्घीय लोकतान्त्रिक गणतन्त्रबीच गहिरो र रगतको सम्बन्ध रहेको चर्चा गर्नुभयो । सोही क्रममा उहाँले २०६१ सालमा पार्टीभित्रको आन्तरिक सङ्घर्ष र डा.बाबुराम भट्टराईमाथि गरिएको चर्चित ुलावाङ कारबाहीुको स्मरण गर्दै राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरिदिनुभएको छ ।

विगतको स्मरण गर्दै प्रचण्डले त्यतिबेला पार्टीभित्र विधि र पद्धति मिचेर प्रतिक्रियावादीलाई खुसी पार्ने गरी सूचना चुहावट भएको र पार्टीलाई शुद्ध पार्न वरिष्ठ नेता भट्टराईलाई कारबाही गर्नुपर्ने बाध्यता आइपरेको बताउनुभयो । ‘हामीले यही ऐतिहासिक गाउँमा बसेर गलत प्रवृत्तिबाट पार्टीलाई जोगाउन हिम्मतका साथ कारबाहीको निर्णय लिएका थियौँ,’ उहाँले भन्नुभयो । उहाँले लावाङ बैठक केवल आन्तरिक सुदृढीकरणमा मात्र सीमित नरही तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको माघ १९ को घटनासँग पनि जोडिएको उल्लेख गर्दै लावाङबासीको ऐतिहासिक त्यागको उच्च प्रशंसा गर्नुभयो ।

यसपटक उम्मेदवारका रूपमा रुकुम पूर्वको मैदानमा उत्रिनुभएका प्रचण्डले जनयुद्धका बाँकी कार्यभार र सहिदको सपना पुरा गर्न आफू फेरि जनताको घरदैलोमा आएको बताउनुभयो । लावाङको बैठक बसिरहेकै बेला शाही ‘कू’ भएको र त्यसले जनयुद्धको दिशा बदल्न भूमिका खेलेको उल्लेख गर्दै उहाँले यस पटकको निर्वाचनमा जनतासँग प्रत्यक्ष साक्षात्कार गरेर अघि बढ्ने सङ्कल्प दोहोर्‍याउनुभयो ।


सम्बन्धित समाचार