Logo

१ फाल्गुन, काठमाडौँ । आम जनता पार्टी (आजपा) ले मुलुकको विद्यमान राजनीतिक प्रणालीले जनताको आकाङ्क्षा सम्बोधन गर्न नसक्ने निष्कर्षसहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान व्यवस्था असफल भएको दाबी गर्दै नयाँ राजनीतिक एजेन्डाहरू अघि सार्नुभएको हो । आजपाले आफ्नो घोषणापत्रमा ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री’ देखि एक घर एक रोजगारीसम्मका जनमुखी कार्यक्रमहरूलाई प्राथमिकताका साथ समावेश गरेको छ ।

अध्यक्ष साहले घोषणापत्र सार्वजनिक गर्दै आफूलाई कहिले मधेश त कहिले पहाडको मसिहा भनेर मत माग्ने र सत्तामा पुगेपछि व्यक्तिगत स्वार्थमा लिप्त हुने प्रवृत्तिले देश बर्बाद पारेको टिप्पणी गर्नुभयो । उहाँले ‘नयाँ’ भनिएका राजनीतिक दलहरूले पनि विगतमा पुरानाले देश बिगारेको आरोप लगाए पनि अन्त्यमा उनीहरूसँगै मिलेर सत्ताको स्वाद चाखेको भन्दै तीखो आलोचना गर्नुभयो । जनतालाई मूर्ख बनाएर नयाँको खोल ओढ्नेहरूबाट देशको हित नहुने बताउँदै साहले आफ्नो पार्टी वास्तविक मुद्दा र इमानदार योजनाका साथ मैदानमा आएको दाबी गर्नुभयो ।

आजपाले सुशासन र सामाजिक सुरक्षालाई मुख्य खम्बा मान्दै भ्रष्टाचार नियन्त्रणका लागि अधिकारसम्पन्न छुट्टै संरचना बनाउने, निःशुल्क शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्ने जस्ता विषयलाई घोषणापत्रमा समेटेको छ । अध्यक्ष साहले जनताको जीवनस्तर सुधारका लागि कागजी प्रतिवेदनमा नभई व्यावहारिक रूपमै परिवर्तन ल्याउने योजना आफूहरूसँग रहेको जिकिर गर्नुभयो । उम्मेदवारको योग्यता, सही नीति र उचित व्यवस्थाका लागि यसपटकको निर्वाचनमा जनताले गम्भीर भएर विवेक प्रयोग गर्नुपर्नेमा उहाँको विशेष जोड थियो ।


सम्बन्धित समाचार