२ फागुन, काठमाडौँ । इरानको आणविक कार्यक्रम स्थगनबारे पटक–पटक भएका कूटनीतिक वार्ता सकारात्मक निष्कर्षमा नपुगेपछि अमेरिकाले मध्यपूर्व क्षेत्रमा थप सैन्य शक्ति तैनाथ गर्ने तयारी गरेको छ। गत साता ओमानमा तेहरानको आणविक कार्यक्रमका विषयमा अमेरिकी र इरानी अधिकारीबीच भएको वार्तामा ठोस सहमति नबनेपछि वासिङ्टनले सुरक्षा रणनीति कडा बनाएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कूटनीतिक माध्यमबाटै सहमतिमा ल्याउने प्रयास जारी रहने बताएका छन्। तर सहमति नभए सैन्य विकल्प पनि खुला रहेको चेतावनी उनले दिँदै आएका छन्। उत्तर क्यारोलिनास्थित एक सैन्य अड्डामा सैनिकहरूलाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्न कठिन भइरहेको उल्लेख गरे। उनले भने, “कहिलेकाहीँ डर आवश्यक हुन्छ। डर यस्तो हतियार हो, जसले प्रतिकूल अवस्था नियन्त्रणमा ल्याउन सक्छ।”
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पेन्टागनले मध्यपूर्वमा थप एक विमानवाहक युद्धपोत पठाउने निर्णय गरिसकेको छ। त्यससँगै हजारौँ सैनिक, लडाकु विमान, निर्देशित क्षेप्यास्त्र बोकेका विनाशक युद्धपोत तथा अन्य आक्रमण र प्रतिरक्षात्मक सैन्य साधनहरू तैनाथ गरिँदै छन्।
सीएनएनका अनुसार ‘युएसएस जेराल्ड फोर्ड’ नामक विमानवाहक युद्धपोत मध्यपूर्वतर्फ पठाइने तयारी भइरहेको छ। यो युद्धपोत केही महिनादेखि क्यारेबियन क्षेत्रमा तैनाथ थियो। गत महिना मात्रै अमेरिकाले ‘युएसएस अब्राहम लिंकन’ युद्धपोत इरानतर्फ पठाइसकेको छ। अब जेराल्ड फोर्ड पनि सोही क्षेत्रमा पुगेर संयुक्त रूपमा सञ्चालन हुने बताइएको छ।
गत वर्ष जुलाईमा अमेरिकाले ‘मिडनाइट ह्यामर’ नाम दिइएको अपरेसनमार्फत इरानका तीन आणविक भट्टीलाई लक्ष्य गरी बम आक्रमण गरेको थियो। यसपटकको सम्भावित योजना त्यसभन्दा पनि बढी ध्वंसात्मक हुन सक्ने ह्वाइट हाउसका अधिकारीहरूले संकेत गरेका छन्। उनीहरूका अनुसार सम्भावित कारबाहीमा आणविक पूर्वाधारसँगै इरानी राज्य र सुरक्षा संयन्त्रका संरचनाहरू समेत निशानामा पर्न सक्छन्, यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
ह्वाइट हाउसकी प्रवक्ता एना केलीले राष्ट्रपतिसँग सबै विकल्प खुला रहेको बताएकी छन्। उनका अनुसार सबै पक्षको सुझाव र राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर अन्तिम निर्णय राष्ट्रपति ट्रम्पले लिनेछन्। पेन्टागनले भने यसबारे औपचारिक टिप्पणी गर्न अस्वीकार गरेको छ।
रोयटर्सले उद्धृत गरेका ह्वाइट हाउसका दुई अधिकारीका अनुसार अमेरिकी सेना तयारी अवस्थामा रहेको र राष्ट्रपति आदेशको प्रतीक्षामा रहेको छ।
विश्लेषकहरूका अनुसार इरानसँग ठूलो संख्यामा क्षेप्यास्त्र भण्डार रहेकाले सम्भावित द्वन्द्वमा अमेरिकी सेना र उसका क्षेत्रीय अड्डाहरू जोखिममा पर्न सक्छन्। इरानको रिभोलुसनरी गार्ड्सले इरानी भूमिमा आक्रमण भए मध्यपूर्वका जुनसुकै अमेरिकी सैन्य अड्डालाई निशाना बनाइने चेतावनी दिएको छ।
जोर्डन, कुवेत, साउदी अरेबिया, कतार, बहराइन, संयुक्त अरब इमिरेट्स र टर्कीमा अमेरिकाका सैन्य अड्डाहरू रहेका छन्। विश्लेषकहरूका अनुसार यदि आक्रमण–प्रत्याक्रमणको श्रृंखला सुरु भयो भने त्यसले व्यापक क्षेत्रीय द्वन्द्व निम्त्याउने जोखिम बढ्नेछ।
















