२ फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज चुनावी संकल्पपत्र सार्वजनिक गर्ने भएको छ।
पार्टीका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको प्रतिज्ञापत्र आज दिउँसो सवा १ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।
राप्रपाले आगामी निर्वाचनलाई आफ्नो राजनीतिक एजेन्डा र कार्यदिशा स्पष्ट गर्ने अवसरका रूपमा लिँदै मतदातासमक्ष नीति, कार्यक्रम र प्रतिबद्धता प्रस्तुत गर्न लागेको जनाएको छ।
निर्वाचन आयोगले फागुन २१ को निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई आइतबार (फागुन ३ गते) भित्र आफ्नो चुनावी घोषणापत्र आयोगमा पेस गरिसक्न निर्देशन दिएको छ। सोही समयसीमाअनुसार राप्रपाले पनि औपचारिक रूपमा आफ्नो संकल्पपत्र सार्वजनिक गर्न लागेको हो।

















