२ फागुन, काठमाडौँ । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाउँदै हङ्गेरी पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखा कालिन्चोक गाउँपालिका–४ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका ५६ वर्षीय महेश तामाङ रहेका छन्।
प्रहरीका अनुसार तामाङले एक जना पीडितबाट हङ्गेरीमा रोजगारी लगाइदिने भन्दै तीन लाख रुपैयाँ असुल गरेका थिए। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शुक्रबार काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको प्रहरीले जनाएको छ।
















