२ फागुन,काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आइतबार बिहान सवा ११ बजे वेस्ट इन्डिजसँग तेस्रो खेल खेल्दैछ। उक्त खेलअघि नेपाली टोलीले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान अभ्यास गरेको छ।
अभ्यास सत्रमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल अनुपस्थित रहेका थिए। उनी अस्वस्थ भएका कारण अभ्यासमा सहभागी हुन नसकेको नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले पुष्टि गरेका छन्।
वानखेडेमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक लले भने, “कप्तान ठिकै छन्। उनलाई हिजो राति ज्वरो आएको थियो र औषधि खाएका छन्, त्यसैले भोलि ठिक हुन्छन् होला।”
रोहितले यसअघि इंग्ल्यान्डविरुद्ध ३९ रन र इटालीविरुद्ध २३ रन बनाएका थिए। वेस्ट इन्डिजविरुद्धको महत्वपूर्ण खेलअघि कप्तानको स्वास्थ्य अवस्थालाई लिएर टोली व्यवस्थापन सतर्क रहेको बताइएको छ।
नेपालले समूह चरणमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आएको छ र आगामी खेलमा सकारात्मक नतिजा निकाल्ने लक्ष्यसहित तयारी गरिरहेको छ।















