२ फागुन, पर्वत । पर्वत जिल्लाका विभिन्न खोलामा मोटरेबल पुल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ। वर्षायाममा बाढीका कारण अवरुद्ध हुने सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने लक्ष्यसहित पूर्वाधार विकास कार्यालय पर्वतले तीन स्थानमा पुल निर्माण कार्य अगाडि बढाएको हो।
पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालका अनुसार पैंयु गाउँपालिकाको सरौखोला स्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेवास नगरपालिकाको सिमानामा पर्ने मल्याङ्दीखोला तथा परादी–गिज्यान सडकअन्तर्गत मोदीखोलामा मोटरेबल पुल निर्माण भइरहेको छ।
तीनमध्ये दक्षिण पर्वतको पैंयु गाउँपालिकाअन्तर्गत सरौ–बालाकोट सडक खण्डमा पर्ने छत्तिसेघाट मोटरेबल पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। विसं २०८० कात्तिकदेखि सुरु गरिएको २५ मिटर लामो उक्त पुल रु चार करोड ४३ लाख लागतमा निर्माण भएको हो। निर्माणको जिम्मा कस्तुरी कन्ट्रक्सनले पाएको थियो।
वर्षायाममा सरौखोलामा आउने ठूलो बाढीका कारण पैंयु गाउँपालिकाको सरौखोला र महाशिला गाउँपालिकाको होश्राङदी, भोक्सिङ तथा बालाकोटका स्थानीयवासीले वर्षौँदेखि सास्ती खेप्दै आएका थिए। हिउँदमा खोला तरेर सवारी सञ्चालन भए पनि वर्षायाममा सडक पूर्णरूपमा ठप्प हुने गरेको थियो। मोटरसाइकल र साइकलसमेत झोलुङ्गे पुलबाट वारपार गर्नुपर्ने बाध्यता थियो।
पुल निर्माण सम्पन्न भएसँगै अब उक्त सडक बाह्रै महिना सञ्चालन हुने भएको छ। पैंयु गाउँपालिकाका पूर्वअध्यक्ष खगेन्द्र तिवारीका अनुसार पुलले स्थानीयको दैनिक आवागमन, कृषि उपज ढुवानी र आपतकालीन सेवामा ठूलो सहजता ल्याएको छ। सरौ–होश्राङ्दी–बालाकोट सडक लुंखु–हुवास सडकको वैकल्पिक मार्गका रूपमा उपयोगी बन्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, कुश्मा नगरपालिका–१० पिपलटारी र फलेवास नगरपालिका–३ शंकरपोखरी जोड्ने गरी मल्याङ्दीखोला माथि १६ मिटर लामो मोटरेबल पुल निर्माण भइरहेको छ। झण्डै रु दुई करोड ५० लाख लागतमा बन्ने यो पुल निर्माणपछि कुश्मा–९ पिपलटारी, कुश्मा–८ कटुवाचौपारी तथा फलेवासका शंकरपोखरी, खानीगाउँ, थापाठाना, भँगरा र कार्किनेटालगायतका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्।
यसैगरी, मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रूपमा प्रयोग गर्न सकिने परादी–मोदी–गिज्यान–ठाना–तिलाहार सडकअन्तर्गत मोदीखोलामा पनि मोटरेबल पुल निर्माण थालिएको छ। कुश्मा नगरपालिका–८ परादी र मोदी गाउँपालिका–६ गाडतारा जोड्ने उक्त पुल गत आर्थिक वर्षदेखि निर्माण प्रक्रिया सुरु गरिएको हो।
बजेट अभाव र राजनीतिक अस्थिरताका कारण केही ढिलाइ भए पनि जिल्लामा धमाधम पुल निर्माण भइरहेकाले स्थानीयवासीमा उत्साह थपिएको छ। पुलहरू सञ्चालनमा आएपछि पर्वतका दुर्गम बस्तीहरू अब वर्षायाममा पनि सडक सञ्जालसँग जोडिने विश्वास गरिएको छ।















