२ फागुन,वीरगञ्ज । नेकपा एमालेले पर्सा क्षेत्र नम्बर–३ मा आज विशेष पुनर्मिलन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पर्सा क्षेत्र नं. ३ (ख) का निर्वतमान प्रदेश सांसद प्रहल्लाद गिरी र युवा नेता रमेश साहसहितका नेताहरू पुनः एमालेमा फर्किएका छन्।
कार्यक्रममा नेताहरूलाई एमालेका प्रतिनिधि सभा उम्मेदवार रुपेश कुमार पाण्डेय, पूर्व प्रदेश मन्त्री प्रमोद जयसवाल लगायत पार्टीका स्थानीय अगुवा र कार्यकर्ताहरूले स्वागत गर्दै “पुरानो घर एमालेमा फर्किएको” भन्दै खुशी व्यक्त गरेका थिए।
पुनः पार्टीमा फर्किएका नेताहरूले मुलुकको राष्ट्रियता जोगाउन एमाले बलियो बनाउनुपर्ने आवश्यकता औँल्याए र आगामी निर्वाचनमा सूर्य छापमा मतदान गर्न निर्वाचन क्षेत्रवासीलाई आग्रह गरे।
प्रहल्लाद गिरीले एमालेको अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै, पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार रुपेश कुमार पाण्डेयलाई समर्थन जनाएका छन्।
एमालेले विश्वास व्यक्त गरेको छ कि यस पुनर्मिलन कार्यक्रमले क्षेत्र नं. ३ मा पार्टीको संगठन थप मजबुत बनाउनेछ।
















