Logo

२ फागुन,काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आयरल्याण्डले ओमानलाई ९६ रनले पराजित गरेको छ। आयरल्याण्डले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको ओमान १८ ओभरमा १३९ रनमा अलआउट भयो।

ओमानका लागि आमिर कलीमले ५० र हमाद मिर्जाले ४६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। आयरल्याण्डका जोश लिटिलले ३ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्याण्डले ५ विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो। कप्तान लोर्कन टकरले अविजित ९४ रन बनाउँदै टोलीको अग्रस्थान कायम राखे भने ग्यारेथ डेलानीले ५६ रन जोडे। ओमानका शकील अहमदले ३ विकेट लिए।

यो जीतसँगै आयरल्याण्डले आफ्नो अंकतालिकामा २ अङ्क जोडेको छ।

त्यसैगरी, अर्को खेलमा अहिले इंग्ल्याण्ड र स्कटल्याण्ड भारतको इडेन गार्डेन्समा भिडिरहेका छन्। इंग्ल्याण्डले टस जितेर बलिङ गर्दैछ।

आज बेलुका सवा ७ बजे न्युजिल्याण्ड र दक्षिण अफ्रिकाले अहमदावादमा भिड्नेछन्।

नेपालले आफ्नो तेस्रो खेल भोलि बिहान सवा ११ बजे वेस्ट इन्डिजसँग खेल्नेछ। यसअघि नेपाल इंग्ल्याण्डसँग ४ रनले र इटालीसँग १० विकेटले पराजित भएको थियो। नेपालले समूह चरणको अन्तिम खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ।

हिजो भएका खेलमा अमेरिका, यूएई र जिम्बावे विजयी भएका छन्। अमेरिकाले नेदरल्यान्ड्सलाई ९३ रनले, यूएईले क्यानडालाई ५ विकेटले, र जिम्बावेलाई अस्ट्रेलियालाई २३ रनले हराएको छ।


सम्बन्धित समाचार