२ फागुन,काठमाडौं । नेपाली कांग्रेसले आगामी आमनिर्वाचनको तयारीसँगै पार्टीभित्रको आन्तरिक एकता थप सुदृढ र सबल बन्दै गएको जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले शनिबार आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशनपछिका पृष्ठभूमिमा कुनै प्रकारको अलमल, असहयोग वा गुनासो नरहेको स्पष्ट पारेका छन्।
पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा कांग्रेसले भन्यो, “निर्वाचनसँगै आन्तरिक एकताका सवालमा निरन्तर सुदृढ बन्दै गइरहेको छ। निवर्तमान पदाधिकारी तथा वरिष्ठ नेताहरू देशका विभिन्न क्षेत्रमा पुगेर सहयोग र निर्देशन दिन क्रियाशील छन्।”
प्रवक्ता चालिसेले पार्टीको चुनावी प्रतिज्ञापत्र भोलि फागुन ३ गते केन्द्रीय कार्यालयबाट सार्वजनिक हुने जानकारी दिएका छन्। सभापति गगनकुमार थापाको नेतृत्वमा तयार पारिएको उक्त दस्तावेजले मुलुकको समृद्धि र आगामी पाँच वर्षका लागि स्पष्ट खाका प्रस्तुत गर्ने कांग्रेसको विश्वास छ।
निर्वाचन आयोगको तालिकाअनुसार, फागुन ४ गतेदेखि कांग्रेसले देशव्यापी औपचारिक चुनावी प्रचारप्रसार सुरु गर्नेछ भने फागुन ६ गते मधेश प्रदेशको राजधानी जनकपुरमा विशाल आमसभा आयोजना गर्ने कार्यक्रम तय भएको छ।
कांग्रेसले निर्वाचन आचारसंहिताप्रति उच्च सम्मान रहेको र यसको निःशर्त पालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रवक्ता चालिसेले कांग्रेस सभ्य, सुसंस्कृत र सन्तुलित शैलीका साथ मतदातामाझ जाने र डिजिटल प्लेटफर्महरूमा पनि तर्कपूर्ण उपस्थिती रहने बताए।
विज्ञप्तिमा उल्लेख छ कि लोकतन्त्रमाथिको प्रहार र छिमेकी राष्ट्रका राजनीतिक घटनाक्रमप्रति सचेत रहँदै कांग्रेसले आफ्नो देशको समृद्धि र लोकतान्त्रिक मूल्यको रक्षालाई प्राथमिकतामा राखेको छ।
















