Logo

 २ फागुन,काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त तथा देश–विदेशबाट आएका भक्तजनको चहलपहल बढेको छ। यस वर्ष चार हजारदेखि चार हजार ५०० सम्म साधुसन्त आउने अनुमान गरिएको छ।

महाशिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, भोजन सेवा, खानेपानी, चिया लगायतका सेवाको घुइँचो देखिएको छ। कतिले सेवा सुरु गरिसकेका छन् भने कतिले तयारी गरिरहेका छन्। पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारी स्थलगत रुपमा खटेर व्यवस्थापनमा सक्रिय छन्। कोषाध्यक्ष श्रीधर सापकोटाका अनुसार, यस वर्ष सफाइमा विशेष ध्यान दिइएको छ।

हंसमण्डपमा भोजन सेवा दिइरहेका विनोद लीला अग्रवालले भने, “आज दिउँसो विगत वर्षको तुलनामा कम भक्तजन आएका छन्। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण मानिसको आवागमन कम भएको हुन सक्छ।” पशुपति क्षेत्र महाशिवरात्रिका लागि फूलमालाले आकर्षक रूपमा सिँगारिएको छ।

आर्यघाट र राममन्दिर क्षेत्रमा वाग्मती किनारको सफाइ

‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको ६६६औँ हप्तामा पशुपति क्षेत्रको राममन्दिर मुनिको नदी किनार, आर्यघाट र आसपासको क्षेत्र सफाइ गरिएको छ।

सफाइ अभियानमा पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य रामेश्वर सङ्गतसहित कर्मचारी, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, वातावरण विभाग प्रमुख सरिता राई, टेकुका प्रमुख मीनबहादुर थापा, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।

अभियानकर्मी किशोरसिंह शाहीका अनुसार, आजको सफाइमा लगभग १८ मेट्रिकटन कुहिने तथा नकुहिने फोहर व्यवस्थापन गरिएको छ।


सम्बन्धित समाचार