Logo

२ फागुन,कैलाली । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सीपमूलक कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।

धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘सीप तथा रोजगार मेला–२०८२’ अवलोकन गर्दै पूर्वमन्त्री आलेले बढ्दो बेरोजगारी समस्याको समाधान प्राविधिक तथा व्यवसायिक सीप विकास र उद्यमशीलता प्रवर्द्धनमार्फत सम्भव हुने बताए। उनका अनुसार, “युवालाई व्यवसायिक सीप सिकाएर स्वरोजगारमा लाग्न सक्ने बनाउनु जरुरी छ। यसले रोजगार दिने क्षमतामा लैजान्छ।”

उनी युवाको रुचि र बजार मागअनुसार तालिम कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन्। विशेषतः सूचना प्रविधि, कृषि आधुनिकीकरण, पर्यटन, निर्माण, साना र घरेलु उद्योगमा आधारित तालिमले दिगो रोजगारी सिर्जना गर्न सक्ने उनले बताए।

पूर्वमन्त्री आलेले वैदेशिक रोजगारीमा जाने युवाका लागि पनि सीपमूलक तालिम अनिवार्य गर्नुपर्ने आवश्यकता औँल्याए। “दक्ष जनशक्तिको अन्तर्राष्ट्रिय बजारमा उच्च माग हुन्छ र सीपअनुसार पारिश्रमिक पाइन्छ। त्यसैले प्रस्थानपूर्व सीप अभिमुखीकरण अनिवार्य हुनुपर्छ,” उनले भने।

सीप विकास कार्यक्रम प्रभावकारी बनाउन राज्यले बजेट र नीतिगत प्राथमिकता बढाउनुपर्ने उनले जोड दिए। स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरी बेरोजगारी न्यूनीकरण, गरिबी अन्त्य र आर्थिक समृद्धि सुनिश्चित गर्न सकिने उनका भनाइ थियो।

धनगढी उपमहानगरपालिकाद्वारा आयोजित मेलामा हाल ७ विधाअन्तर्गत २२ तालिम सञ्चालन भइरहेको छ। तालिममा सिलाइ–कटाइ, ब्यूटिसियन, कम्प्युटर, इलेक्ट्रिसियन, प्लम्बिङ, मोबाइल मर्मत, कृषि तथा पशुपालनसम्बन्धी प्रशिक्षण समावेश छन्। सहभागी युवाहरूले छोटो अवधिमा उपयोगी सीप सिकेर आय आर्जनमा जुट्न सक्ने विश्वास गरिएको छ।

पूर्वमन्त्री आलेले मेला आयोजना गरेकोमा धनगढी उपमहानगरपालिका र नगरप्रमुख गोपाल हमाललाई धन्यवाद दिए। उनले यस्तो युवामैत्री कार्यक्रम निरन्तरता दिनुपर्ने र सरकार–निजी क्षेत्र सहकार्यबाट व्यापक रोजगारी सिर्जना गर्न सकिने धारणा राखे।

मेलामा करिब ६०० जना युवाहरू सहभागी भएका छन्, जसले आगामी दिनमा स्वरोजगार र आत्मनिर्भरता तर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार