३ फागुन, काठमाडौँ । नेपाली सेना ले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । महाशिवरात्रिको अवसर पारेर मनाइने सेना दिवसका मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा आयोजना हुँदैछन् ।
समारोहमा रामचन्द्र पौडेल को प्रमुख आतिथ्य रहनेछ। नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलको उपस्थितिमा महाशिवरात्रि बढाइँ, विशेष परेड, तोप बढाइँ, कवाज प्रदर्शन तथा सैनिक कला र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम छ। मुख्य समारोह सैनिक मञ्च टुँडिखेल मा आयोजना हुनेछ ।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार जङ्गी अड्डामातहत पृतना, बाहिनी, गण र गुल्महरूका साथै कूटनीतिक नियोग र विभिन्न शान्ति मिसनमा समेत विशेष कार्यक्रम गरी सेना दिवस मनाइँदै छ ।
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि विभिन्न कालखण्डमा नेपाली सेनाले कीर्तिमानी भूमिका निर्वाह गर्दै आएको छ। वर्तमान सङ्गठनात्मक स्वरूपको सुरुआत वि.सं. १८१९ सालदेखि भएको मानिन्छ। देशभक्ति, अनुशासन र समर्पणका आधारमा सेनाले नागरिकमाझ विश्वासको अटल छाप बनाएको छ ।
सैनिक वीरपुर्खाहरूको साहस, वीरता र बलिदानकै जगमा आधुनिक नेपाल राष्ट्र निर्माण भएको ऐतिहासिक तथ्य स्मरण गर्दै सेना दिवस मनाइन्छ । संविधानले तोकेको राष्ट्रिय एकता र सुरक्षा कायम राख्ने जिम्मेवारी सेनाले निर्वाह गर्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घ को आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। सन् १९५८ देखि सुरु भएको सहभागिताअन्तर्गत हालसम्म ४४ शान्ति मिसनमा एक लाख ६२ हजारभन्दा बढी नेपाली शान्ति सैनिक परिचालन भइसकेका छन् ।
शान्ति स्थापनाकै क्रममा ७४ सैनिकले जीवन बलिदान दिएका छन् भने ७७ जना घाइते भएका छन् । हाल विश्वका १० मिसनमा ३९१ महिलासहित चार हजारभन्दा बढी नेपाली शान्ति सैनिक कार्यरत छन्। महिला शान्ति सैनिक परिचालनमा समेत नेपाल अग्रस्थानमा रहेको छ ।
भक्तपुर खरिपाटीस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, सैनिक शिक्षालय तथा शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेज अन्तरराष्ट्रिय सैनिक तालिमका महत्वपूर्ण केन्द्रका रूपमा स्थापित छन्। यहाँ विश्वका विभिन्न मुलुकका सैनिक अधिकारीले तालिम लिँदै आएका छन् ।
सेनाले विपद् व्यवस्थापन, सडक पूर्वाधार निर्माण, ऐतिहासिक सम्पदा संरक्षण, हिमाल सफाइ अभियान तथा राष्ट्रिय गौरवका आयोजनामा समेत सक्रिय भूमिका खेल्दै आएको छ। काठमाडौँ-तराई मधेस द्रुतमार्ग निर्माण सेनाकै व्यवस्थापनमा अगाडि बढिरहेको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा रहेको सेनाले जनाएको छ ।
सेना दिवसले सैनिक इतिहास, बलिदान र राष्ट्रिय सुरक्षाप्रतिको प्रतिबद्धतालाई स्मरण गर्दै सैनिक–नागरिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।
















