३ फागुन,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिका–६ स्थित सिम्रौनगढ आँखा अस्पताल नजिकै गण्डक नहरको पुल (साइफन) मुनि साइकल यात्री खसेर गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा मौलापुर नगरपालिका–६ पथरा निवासी ६० वर्षीय रामबहादुर यादव भगता रहेका छन्।
स्थानीयवासीहरूले उनलाई पुल मुनि लडेको अवस्थामा देखेपछि नजिकै रहेको शस्त्र प्रहरी बल नेपालको बेस क्याम्प गोलागञ्जमा खबर गरेका थिए। जानकारी प्राप्त हुनासाथ शस्त्र प्रहरीले घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो।
घाइते यादवका अनुसार कुहिरो लागेको समयमा बाटो छुट्दा दुर्घटना भएको हो। “म कंकाली माईको दर्शन गर्न सिम्रौनगढ आउँदै थिएँ, कुहिरोका कारण बाटो छुट्यो,” उनले बताए।
उद्धारपछि घाइतेलाई उपचारका लागि कलैया लगिएको छ। उनका अनुसार दुर्घटनामा बायाँ खुट्टा भाँचिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।















