Logo

३ फाल्गुण, काठमाडौं । नेपालका लघुवित्त वित्तीय संस्थाहरूको व्यवसायिक अवस्थामा उल्लेख्य सुधार आएसँगै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफामा ७३ दशमलव १७ प्रतिशतको ठुलो फड्को मारिएको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म कुल २ अर्ब ७६ करोड ६२ लाख रुपैयाँ मात्र नाफा कमाएका लघुवित्तहरूले यस वर्षको सोही अवधिसम्म ४ अर्ब ७९ करोड २ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रमा लिएको कसिलो नीतिलाई केही खुकुलो बनाउनु, एउटै ग्राहकले दुईवटा संस्थाबाट ऋण लिन पाउने व्यवस्था हुनु र वाणिज्य बैंकहरूको ब्याजदर घट्दा लघुवित्तले सस्तोमा पुँजी प्राप्त गर्नु यस नाफा वृद्धिका मुख्य आधारहरू हुन् ।

वित्तीय विवरण अनुसार यस अवधिमा छिमेक लघुवित्त सर्वाधिक ५७ करोड ६० लाख रुपैयाँ नाफा कमाउँदै अग्रस्थानमा रहन सफल भएको छ भने डिप्रोक्स लघुवित्त ४४ करोड २९ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा देखिएको छ । नाफाको दर (प्रतिशत) का आधारमा फर्वार्ड माइक्रोफाइनान्सले गत वर्षको तुलनामा २०६० दशमलव २४ प्रतिशतको आश्चर्यजनक वृद्धि हासिल गरेको छ भने अभियान लघुवित्तको नाफामा पनि १९४२ दशमलव ८२ प्रतिशतको सुधार देखिएको छ ।

गत वर्ष ८ वटा संस्था नोक्सानीमा रहेकोमा यस वर्ष सुधार आएर घाटामा रहेका संस्थाहरूको संख्या विजय, गणपति, विन नेपाल र सिर्जनशील लघुवित्त गरी ४ वटामा मात्र सीमित भएको छ । खराब कर्जा अनुपातमा देखिएको सुधार र बैंकहरूको ‘बेस रेट’ सँग सामञ्जस्य गरी ब्याजदर निर्धारण गर्न पाउने सुविधाले गर्दा अधिकांश लघुवित्तहरूको वित्तीय स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको हो ।

यद्यपि, समग्र बजारमा सुधार देखिँदा पनि १० वटा लघुवित्तको नाफामा भने अघिल्लो वर्षको तुलनामा ह्रास आएको छ । तथ्याङ्क अनुसार ग्लोबल आईएमई, निर्धन उत्थान र साना किसान जस्ता स्थापित संस्थाहरूको नाफामा समेत केही गिरावट देखिएको छ भने विजय लघुवित्तको नाफामा सर्वाधिक ७८ दशमलव ५६ प्रतिशतको गिरावट आएको छ । ५० वटा लघुवित्तमध्ये ४० वटाले १२ दशमलव ५५ प्रतिशतदेखि २०६० प्रतिशतसम्म नाफा बढाउन सफल हुनुले लघुवित्त क्षेत्रमा देखिएको संकट बिस्तारै समाधान हुँदै गएको र संस्थाहरू पुनः लयमा फर्किन थालेको संकेत गरेको छ ।


सम्बन्धित समाचार