Logo

३ फाल्गुण, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गुल्मीको सदरमुकाम तम्घासदेखि बागलुङको बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि औपचारिक रूपमा परीक्षण सुरु गरेको छ ।

बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना अन्तर्गत तयार पारिएको यो संरचनाले गुल्मी र बागलुङका विभिन्न स्थानीय तहलाई जोड्दै विद्युतीय विकासमा नयाँ आयाम थपेको छ । करिब ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भएको यो आयोजनाले कपिलवस्तुको मोतिपुर सबस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मी र बागलुङको बुर्तिबाङसम्म विद्युत् प्रवाह गर्ने लक्ष्य राखेको छ । आयोजना प्रमुख मनोज चौधरीका अनुसार आजदेखि सुरु भएको दुई दिने परीक्षण सफल भएपछि यस क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र सुदृढ हुने अपेक्षा गरिएको छ ।

प्रसारणलाइनमा १३२ हजार भोल्टको उच्च क्षमताको विद्युत् प्रवाह हुने भएकाले प्राधिकरणले सम्भावित जोखिमप्रति स्थानीय सर्वसाधारणलाई विशेष सचेत गराएको छ । परीक्षण अवधिभर र त्यसपछि पनि प्रसारणलाइनका टावरमा नचढ्न, तार वा संरचनालाई नछुन, र टावरको वरिपरि घरेलु जनावर नछाड्न आग्रह गरिएको छ ।  विशेषगरी बालबालिकाहरूलाई विद्युतीय संरचनाबाट टाढा राख्न र कतै झिल्का (स्पार्क) देखिएमा वा असामान्य जोखिम महसुस भएमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा प्राधिकरणमा खबर गर्न आयोजनाले अनुरोध गरेको छ ।

यो प्रसारणलाइन सञ्चालनमा आएपछि पश्चिम नेपालका यी पहाडी जिल्लाहरूमा भोल्टेजको समस्या समाधान भई औद्योगिक तथा घरेलु प्रयोजनका लागि पर्याप्त विद्युत् उपलब्ध हुने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार