Logo

३ फाल्गुण, काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारण र विभिन्न संघसंस्थाहरूको आकर्षण बढेसँगै निक्षेप संकलनमा उल्लेख्य सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको पछिल्लो तथ्यांकअनुसार बैंकहरूको निक्षेप ५ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । ६ महिनाको यस अवधिमा कुल ४ खर्ब १७ अर्ब ४८ करोड रुपैयाँ निक्षेप थपिएपछि वित्तीय प्रणालीमा रहेको कुल मौज्दात ७६ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप वृद्धिदर केवल ३ दशमलव ७ प्रतिशतमा सीमित रहेको तुलनामा यसपटकको वृद्धिले वित्तीय क्षेत्रमा तरलताको अवस्था थप सहज भएको संकेत गरेको छ ।

निक्षेपको बनावटमा आएको परिवर्तनलाई हेर्दा बचत खाताको हिस्सामा निकै उत्साहजनक वृद्धि देखिएको छ । कुल निक्षेपमा मुद्दती निक्षेपको अंश ४२ दशमलव ८ प्रतिशत र बचतको अंश ४१।३ प्रतिशत कायम भएको छ, जबकि अघिल्लो वर्षको तुलनामा बचतको हिस्सा ३४ दशमलव १ प्रतिशतबाट उकालो लागेर ४१ प्रतिशतभन्दा माथि पुग्नुले नागरिकहरूमा बचत गर्ने बानीको विकास भएको देखाउँछ । चल्ती निक्षेपको हिस्सा ६ दशमलव ९ प्रतिशत रहँदा संस्थागत निक्षेपको अंश भने सामान्य घटेर ३५ दशमलव १ प्रतिशतमा झरेको छ ।

वार्षिक विन्दुगत आधारमा विश्लेषण गर्दा निक्षेपको आकार १४।८ प्रतिशतले बढेको देखिएको छ, जसले समग्र बैंकिङ्ग क्षेत्रप्रतिको जनविश्वास र अर्थतन्त्रमा पूँजीको उपलब्धता बढ्दै गएको पुष्टि गर्दछ ।


सम्बन्धित समाचार