Logo

३ फाल्गुण, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगका अनुसार आइतबारसम्म कुल १ करोड ९१ लाख २४ हजार थान मतपत्रको छपाइ सम्पन्न भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ । अब केवल ११ लाख ९९ हजार थान मतपत्र छाप्न बाँकी रहेको र यो कार्य आगामी दुई दिनभित्रै सकिने आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रका लागि मतपत्र छापेर प्याकिङ समेत भइसकेको छ भने बाँकी १० जिल्लाको छपाइ सकिए पनि प्याकिङ गर्ने काम तीव्र गतिमा भइरहेको छ ।

निर्वाचनको तयारीका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा गत पुस २२ गतेदेखि नै मतपत्र छपाइ सुरु गरिएको थियो । हालसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको छ भने दैनिक ११ देखि १५ लाख थान मतपत्र छाप्ने र करिब एक हजार बाकस प्याकिङ गर्ने काम निरन्तर भइरहेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका २ करोड ८ लाखभन्दा बढी मतपत्र माघ १३ गते नै छापेर तयार गरिसकेको छ भने प्रत्यक्षतर्फको २ करोड ३ लाख थानमध्ये अधिकांश काम सकिएको हो । उपत्यका वरपरका केही जिल्लाहरूको मात्र छपाइ बाँकी रहेको र ती क्षेत्र सुगम भएकाले ढुवानीमा सहज हुने आयोगको विश्वास छ ।

मतपत्र ढुवानीको प्रक्रिया समेत सुरु भइसकेको छ । आयोगले शुक्रबारदेखि नै दुर्गम क्षेत्रहरूलाई प्राथमिकतामा राखेर मतपत्र पठाउन थालेको हो । पहिलो चरणमा कर्णाली प्रदेशका जिल्लाहरूमा मतपत्र पुर्‍याइएको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका विकट जिल्लाहरूमा पनि ढुवानी कार्य अघि बढाइएको छ। सहरी क्षेत्र र सुगम जिल्लाहरूमा भने अन्तिम चरणमा मतपत्र पठाइनेछ ।

यसअघि नै करिब ११ लाख नमुना मतपत्र छापेर जिल्ला(जिल्लामा पठाइसकिएको र अहिले वास्तविक मतपत्रको सुरक्षा र ढुवानीमा आयोगले विशेष ध्यान दिएको छ ।


सम्बन्धित समाचार