३ फाल्गुण, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत हासिल गर्ने दाबी गर्नुभएको छ ।
आइतबार विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै उहाँले देशभर कांग्रेसको पक्षमा जनलहर सिर्जना भएको र यही गति कायम रहे एक हप्ताभित्रै पार्टी बहुमत ल्याउने सुनिश्चित अवस्थामा पुग्ने विश्वास व्यक्त गर्नुभयो । अहिलेको स्थितिमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने निश्चित देखिए पनि पार्टीको लक्ष्य एकल बहुमततर्फ केन्द्रित रहेको उहाँको भनाइ थियो ।
उपसभापति शर्माले २०८२ भदौको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको र यो नै परिवर्तनको संवाहक शक्ति भएको टिप्पणी गर्नुभयो। ‘जसले आफूलाई बदल्न सक्छ, उसले मात्र देश बदल्न सक्छ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै कांग्रेसले आफ्नो कार्यशैली र सोचमा परिवर्तन ल्याएकै कारण अहिले पार्टीमा प्रवेश गर्नेहरूको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको उहाँले उल्लेख गर्नुभयो । अन्य शक्तिहरूले देश बदल्ने कुरा गरे पनि कांग्रेसले आफूलाई नै बदलेर जनताको विश्वास जित्ने आधार तयार पारेको दाबी शर्माले गर्नुभयो ।
निर्वाचनको संघारमा पार्टीभित्रको एकता मजबुत रहेको चर्चा गर्दै उपसभापति शर्माले फागुन २१ को मतदानमा कांग्रेसलाई पहिलो र शक्तिशाली दल बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ताहरू एकढिक्का भएर मैदानमा उत्रिएको बताउनुभयो । बदलिएको कांग्रेसले मात्रै जनताको नयाँ अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्न सक्ने भन्दै उहाँले आगामी निर्वाचनलाई कांग्रेसको पुनरोदयको अवसरका रूपमा व्याख्या गर्नुभयो ।
















