Logo

४ फागुन, मलंगवा (सर्लाही) । सर्लाहीको सदरमुकाम मलंगवामा अज्ञात समूहको गोली प्रहारबाट एक सब-इन्जिनियरको मृत्यु भएको छ । जिल्ला पूर्वाधार विकास कार्यालय, सर्लाहीमा कार्यरत ३६ वर्षीय प्रमोद कुमार यादवको आइतबार राति गोली हानी हत्या भएको हो ।

मूल घर सिरहाको सुखीपुर नगरपालिका-६ बैशाखा भई हाल मलंगवा नगरपालिका-१० देवीटोलमा डेरा गरी बस्दै आएका यादवमाथि आफ्नै निवास अगाडि आक्रमण भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार बेलुका करिब ८:०५ बजेको समयमा अज्ञात व्यक्तिले यादवमाथि गोली प्रहार गरेका थिए । घर अगाडिको प्यासेजमा गोली लागेर छटपटाइरहेको अवस्थामा उनकी श्रीमतीले देखेपछि तत्काल प्रहरीलाई खबर गरेकी थिईन्।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्काको नेतृत्वमा २५ जनाको विशेष टोली घटनास्थल पुगेको थियो।

गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । तर, चोट गम्भीर भएका कारण चिकित्सकले राति ८:३७ बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सरोज राईले जानकारी दिए ।

घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब २ किलोमिटर उत्तरमा पर्दछ । प्रहरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्लाका नाकाहरूमा कडाइ गरेको छ र फरार व्यक्तिको खोजी कार्य तीव्र पारेको छ।

“हामीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान सुरु गरिसकेका छौँ,” डीएसपी राईले भने, “गोली प्रहार गर्नुको कारण र संलग्न समूहबारे सूक्ष्म अध्ययन भइरहेको छ।”

सरकारी कर्मचारीमाथि निवासमै भएको यस प्रकारको साङ्घातिक आक्रमणले स्थानीय सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ ।


सम्बन्धित समाचार