Logo

४ फागुन, काठमाडौँ । बंगलादेश मा मंगलबार हुन लागेको नयाँ प्रधानमन्त्रीको शपथग्रहण समारोहमा भारतका तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार समारोहमा ओम बिरला र विदेश सचिव विक्रम मिस्री ले भारतको प्रतिनिधित्व गर्नेछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने उक्त समारोहमा सहभागी नहुने जनाइएको छ । विदेश मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले सो जानकारी सार्वजनिक गरेको हो। मन्त्रालयले जारी गरेको वक्तव्यमा लोकसभा अध्यक्ष बिरलाको सहभागिताले भारत बंगलादेशबीचको गहिरो, दीर्घकालीन मित्रता र साझा लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्ने उल्लेख गरिएको छ ।

हालै सम्पन्न संसदीय निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत प्राप्त गरेपछि सरकार गठनको तयारी अघि बढेको हो । पार्टी अध्यक्ष तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने भएका छन् ।

ढाकास्थित अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुस ले नेपालसहित चीन, साउदी अरेबिया, भारत, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स र भुटानका सरकार प्रमुखलाई समारोहमा निमन्त्रणा पठाएको जनाइएको छ ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार यसपटक परम्परा तोड्दै शपथग्रहण समारोह ढाकास्थित राष्ट्रिय संसद परिसर भित्रै आयोजना गरिनेछ। नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ मंगलबार बिहान १० बजे र मन्त्रिपरिषद्को शपथ सोही दिन दिउँसो ४ बजे हुने कार्यक्रम तय गरिएको छ।

३ सय सदस्यीय संसदमा बीएनपी गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि दक्षिण एशियाली राजनीति तथा भारत बंगलादेश सम्बन्धमा नयाँ समीकरण बन्ने आकलन गरिएको छ। निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री मोदीले तारिक रहमानलाई टेलिफोनमार्फत बधाई दिएका थिए। उक्त संवादलाई दुई देशबीच सम्बन्ध सुधारको सकारात्मक संकेतका रूपमा हेरिएको छ।

नयाँ सरकार गठनसँगै बंगलादेशको आन्तरिक राजनीति र क्षेत्रीय कूटनीतिक सम्बन्धमा थप परिवर्तन देखिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार