४ फागुन, काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा आइतबार रातिसम्म ६ लाखभन्दा बढी भक्तजनले पशुपतिनाथ मन्दिर को दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोष का अनुसार बिहान २ बजेदेखि राति ९ बजेसम्म पशुपति क्षेत्रमा भक्तजनको उल्लेख्य घुइँचो लागेको थियो ।
यस वर्ष महाशिवरात्रिका अवसरमा करिब ८ लाख भक्तजनले आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको कोषले जनाएको छ। श्रद्धालुहरूको बढ्दो उपस्थितिलाई मध्यनजर गर्दै दर्शन व्यवस्थापन, सुरक्षा र स्वास्थ्य सेवामा विशेष तयारी गरिएको थियो ।
पर्वका क्रममा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि सिसी क्यामरा तथा ड्रोनमार्फत निगरानी व्यवस्था गरिएको थियो। सुरक्षाकर्मीसहितको छुट्टै टोली परिचालन गरी पशुपति क्षेत्रमा चौबीसै घण्टा सुरक्षा सतर्कता अपनाइएको कोषले जनाएको छ।
आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै उद्धार टोली, दमकल र एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो। श्रद्धालुहरूको स्वास्थ्य सुरक्षाका लागि ७० वटा स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको थियो।
भक्तजनको सहजताका लागि एकैपटकमा नौदेखि १० जनासम्मले दर्शन गर्न मिल्ने व्यवस्था मिलाइएको थियो। दर्शन लाइन व्यवस्थापन, प्रवेश निर्गमन मार्ग र स्वयंसेवक परिचालनमार्फत भीड व्यवस्थापन गरिएको थियो।
महाशिवरात्रिका अवसरमा छिमेकी मुलुक भारतबाट साधुसन्त तथा तीर्थयात्रीहरू समेत पशुपति आएका थिए। श्रद्धालुहरूको सुविधाका लागि एम्बुलेन्स सेवा, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन गरिएको थियो।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले महाशिवरात्रिका दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा आराधना गर्ने परम्परा अनुसार दिनभरि पूजा, भजन कीर्तन र आरती सम्पन्न भएका थिए।
पर्वलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित निकायले अपनाएको तयारीका कारण यस वर्षको महाशिवरात्रि उत्सव शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।
















