४ फाल्गुण, काठमाडौं । नेपाली बजारमा उतारचढावका बीच सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर नयाँ उचाइतर्फ लागेको सुनको भाउ सोमबार भने एकै पटक ३ हजार रुपैयाँले घटेर उपभोक्तालाई केही राहत दिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ, जबकि आइतबार यसको कारोबार ३ लाख ५ हजार ८ सय रुपैयाँमा भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। सोमबार चाँदीको भाउ तोलामा १ सय २५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँ निर्धारण गरिएको छ। हिजो आइतबार चाँदीको मूल्य ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव र स्थानीय मागको प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्यमा यस्तो ठूलो फेरबदल आएको व्यवसायीहरूको विश्लेषण छ ।

















