४ फाल्गुण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हाल्दा आफूले ठूलो अन्तर्राष्ट्रिय चलखेल र अदृश्य दबाबको सामना गर्नुपरेको खुलासा गरेका छन् ।
सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ का मतदाताहरूसँगको संवादका क्रममा निवर्तमान मेयर शाहले काठमाडौँको फोहोर व्यवस्थापन र सुकुम्बासी समस्या समाधानका प्रयासहरूमा बाह्य शक्तिहरूको तीव्र चासो र अवरोध रहने गरेको दाबी गरे । महानगरको बागडोर सम्हाल्नु देशको प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीपूर्ण नभएको अनुभव सुनाउँदै उनले काठमाडौँको राजनीतिमा हुने विदेशी चलखेल सामान्य मानिसले कल्पना गरेभन्दा बाहिर रहेको टिप्पणी गरे ।
विशेष गरी सुकुम्बासी व्यवस्थापनको सन्दर्भमा बोल्दै बालेनले खोला किनारमा बस्ने धेरैजसो व्यक्तिहरू वास्तविक सुकुम्बासी नभई राजनीतिक दलहरूद्वारा संरक्षित र परिचालित भएको गम्भीर आरोप लगाए । सुकुम्बासीहरूलाई सुरक्षित आवास र खानपानको व्यवस्थासहित स्थानान्तरण गर्ने योजना आफूसँग सुरक्षित रहेको दाबी गर्दै उनले तीन महिनाअघि नै भूमि आयोगसँग सम्झौता भए पनि राजनीतिक अस्थिरता र बारम्बार फेरिने सरकारका कारण ती कामहरू कार्यान्वयन हुन नसकेको गुनासो गरे । खोला किनारको बसोबास जोखिमपूर्ण हुने भएकाले वैज्ञानिक व्यवस्थापन नै उत्तम विकल्प भएको उनको जिकिर थियो ।
मधेस र बागमती प्रदेशको साताव्यापी भ्रमण सकेर सोमबार मात्रै आफ्नो निर्वाचन क्षेत्र झापा फर्किएका बालेनले बिहानैदेखि घरदैलो अभियानलाई तीव्र बनाएका छन् । मतदाताहरूसँगको सामीप्यता बढाउँदै उनले स्थानीय समस्या र राष्ट्रिय राजनीतिको अन्तरसम्बन्धबारे आफ्ना धारणा राखिरहेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा झापा ५ मा बालेनको सक्रियताले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ ।

















