Logo

४ फाल्गुण, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षभित्र नेपाललाई सूचना प्रविधिको क्षेत्रीय केन्द्र (डिजिटल हब) बनाउने उच्चाकांक्षी तर स्पष्ट चार बुँदे योजना सार्वजनिक गरेका छन् ।

सोमबार एक भिडियो सन्देशमार्फत आफ्नो धारणा राख्दै थापाले विगतमा आफूले कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाउँदै महिनाको ३–४ लाख रुपैयाँ कमाउन सकिने भनी दिएको अभिव्यक्ति हावादारी नभएको दाबी गरे । सूचना प्रविधि क्षेत्रमा रहेका अथाह सम्भावनालाई उचित नीति र कानुनी सुधारमार्फत सम्बोधन गर्न सके ५ वर्षभित्र ४ खर्ब रुपैयाँ बराबरको डिजिटल सेवा निर्यात र २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिने उनको ठम्याइ छ । अघिल्ला सरकारहरूले सुरु गरेका केही सुधारका प्रयासलाई जग मानेर सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आइटी दश’ का रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

सभापति थापाले अघि सारेको योजनाको पहिलो आधार ‘स्थिर कर नीति’ हो, जसले लगानीकर्ता र उद्यमीहरूलाई ढुक्कसँग काम गर्ने वातावरण दिनेछ । दोस्रो महत्वपूर्ण पक्ष ‘मानव संशाधन’ को विकास हो, जसमा बजारको माग र शैक्षिक उत्पादनबीचको खाडल पुर्न सरकार र निजी क्षेत्रको बलियो साझेदारी आवश्यक रहेको उनले बताएका छन् । विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति तयार भएपछि मात्र उद्योगहरू आफैँ आकर्षित हुने थापाको तर्क छ।

तेस्रो योजनामा उनले नेपाल अब फ्रिल्यान्सिङ र बीपीओमा मात्र सीमित नभई आफ्नै ‘डिजिटल प्रोडक्ट’ विकास गर्ने तहमा पुग्नुपर्ने उल्लेख गरे । यसका लागि कृषि, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा स्वदेशी प्रविधिको प्रयोग बढाउँदै अनुसन्धान र विकास (आरएन्डडी) मा लगानी गर्ने कम्पनीलाई १० प्रतिशत कर छुटको प्रस्ताव समेत उनले गरेका छन् ।

योजनाको चौथो र दूरगामी पक्षका रूपमा थापाले नेपालको हरित ऊर्जा (जलविद्युत) लाई प्रविधिसँग जोड्ने प्रस्ताव गरेका छन् । सस्तो र स्वच्छ ऊर्जाको प्रयोग गरी नेपालमा ‘ग्रीन डाटा सेन्टर’, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), क्लाउड कम्प्युटिङ र ब्लकचेन जस्ता उच्च ऊर्जा खपत हुने सेवाहरूमा विश्वबजारसँग प्रतिस्पर्धा गर्न सकिने उनको विश्वास छ ।

यसका साथै, दुई लाखभन्दा बढी ‘गिग वर्कर’ हरूलाई श्रम ऐन संशोधनमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउने र बनेपाको आइटी पार्क जस्ता संरचनालाई केवल भवनमा सीमित नराखी पूर्ण ‘डिजिटल इकोसिस्टम’का रूपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । सानो कानुनी सुधारले पनि ठूलो नतिजा दिने उदाहरण दिँदै थापाले नेपाललाई प्रविधिको माध्यमबाट समृद्ध बनाउन कांग्रेसले नेतृत्व लिने उद्घोष गरे ।


सम्बन्धित समाचार
भर्खरै