४ फाल्गुण, काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ को चुनावी समीकरणमा सोमबार एउटा नाटकीय परिवर्तन आएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं पार्टीका केन्द्रीय सदस्य श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले) मा प्रवेश गरेको घोषणा गरेका छन् ।
मतदाताको घरदैलोमा पुगिरहेका बेला अचानक एक प्रेस विज्ञप्ति जारी गर्दै यादवले पार्टीको साधारण सदस्यसहित सबै जिम्मेवारी त्यागेर एमालेमा समाहित भएको जानकारी दिएका हुन् । मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा स्थायित्व र निकासका लागि एमाले नै प्रमुख शक्तिका रूपमा स्थापित हुने विश्वास पलाएकाले आफूले यो कदम चालेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
पार्टी परिवर्तनसँगै यादवले आफूलाई विश्वास गर्ने सम्पूर्ण मतदाताहरूलाई अब एमालेको चुनाव चिन्हमा मतदान गर्न सार्वजनिक आह्वान समेत गरेका छन् । उनलाई नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे तथा नेताहरू भुमिश्वर ढकाल, गोमादेवी आचार्य लगायतका स्थानीय नेताहरूले पार्टीमा भव्य स्वागत गरेका थिए । रुपन्देही–३ मा एमालेका तर्फबाट बासुदेव घिमिरे चुनावी मैदानमा रहेको सन्दर्भमा जसपाका उम्मेदवारकै समर्थन र पार्टी प्रवेशले एमालेलाई थप बल पुग्ने आकलन गरिएको छ ।

















