४ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध जिल्ला अदालत कास्कीमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ।
सोमबार मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै अदालतले तत्काल फिर्ता गर्न नमिल्ने आदेश दिएको हो। जिल्ला अदालतका न्यायाधीश नितिश राईको एकल इजलासले सर्वोच्च अदालतबाट हुने आदेश पेश भएपछि मात्रै यस विषयमा निर्णय हुने स्पष्ट पारेको छ।
यसअघि जिल्ला अदालत रूपन्देहीले पनि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गर्दै सम्बन्धित निकायलाई परिपत्र गरेकी थिइन्। सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएको थियो।
तर अदालतले सर्वोच्च अदालतको निर्णय नआएसम्म यस विषयमा अन्तिम निर्णय गर्न नसकिने आदेश दिएको हो।
लामिछानेविरुद्ध जिल्ला अदालत रूपन्देही, जिल्ला अदालत कास्की, जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत चितवनमा सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएका छन्।

















