Logo

५ फागुन, काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार राति भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेलगतै प्रसाईंलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पुर्‍याइएको छ । फागुन २१ गते हुन लागेको निर्वाचन विथोल्ने गतिविधिमा संलग्न हुन लागेको आशंकामा प्रहरीले उनलाई निगरानीमा राख्दै आएको थियो ।

प्रसाईं पछिल्लो समय श्रृंखलाबद्ध रूपमा प्रहरीको नियन्त्रणमा पर्दै आएका छन् । यसअघि माघ २३ गते पक्राउ परेका उनी हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनका सम्बन्धमा उनले दिएका अभिव्यक्तिलाई लिएर प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरेको थियो । त्यस्तै, माघ ५ गते पनि पोखराबाट पक्राउ गरी बयानपछि उनलाई छाडिएको थियो ।

प्रसाईं पक्राउ परेपछि उनको सचिवालयले एक विज्ञप्ति जारी गर्दै कडा आपत्ति जनाएको छ । प्रमुख स्वकीय सचिव सुशील बरालद्वारा जारी विज्ञप्तिमा सुतिरहेको अवस्थामा रातिको समयमा गरिएको धरपकडलाई ‘अलोकतान्त्रिक र प्रतिशोधपूर्ण’ भनिएको छ ।

“कुनै पनि नागरिकलाई कानुनी प्रक्रियाभन्दा बाहिर गएर, व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको ठाडो उल्लंघन हुने गरी गरिएको यो गिरफ्तारी पूर्णतः प्रतिशोधपूर्ण छ,” विज्ञप्तिमा भनिएको छ । सचिवालयले राज्यको यस्तो ‘दमनकारी चरित्र’ को भर्त्सना गर्दै प्रसाईंलाई विना सर्त र सम्मानजनक रूपमा तत्काल रिहा गर्न माग गरेको छ ।

विज्ञप्ति मार्फत सचिवालयले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको सम्मान गर्न सरकारलाई सचेत गराएको छ । राज्य शक्तिको दुरुपयोग गरी मानसिक यातना दिने कार्य बन्द नभए र मागहरूलाई बेवास्ता गरेमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने चेतावनी समेत दिइएको छ ।

प्रहरीले भने प्रसाईंलाई कुन निश्चित अभियोगमा पक्राउ गरिएको हो भन्नेबारे विस्तृत जानकारी दिइसकेको छैन । यद्यपि, निर्वाचन सुरक्षा र शान्ति सुरक्षा कायम राख्ने सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको बुझिएको छ ।


सम्बन्धित समाचार
भर्खरै