५ फागुन, वीरगञ्ज । वीरगञ्जको श्रीपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार सिंहविरुद्ध विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । कक्षा १० का विद्यार्थीहरूको ’फेयरवेल’ (विदाई) कार्यक्रममा नाच्न नदिएको र विद्यार्थीमाथि कुटपिट गरेको आरोप लगाउँदै उनीहरू आन्दोलित भएका हुन् ।
सोमबार आयोजित विदाई समारोहमा प्रधानाध्यापक सिंहले विद्यार्थीहरूलाई दुव्र्यवहार गरेको भन्दै आक्रोशित विद्यार्थी समूहले विद्यालय परिसरमा ‘प्रधानाध्यापक मुर्दावाद’ को नारा लगाएका थिए ।
आन्दोलित विद्यार्थीहरूका अनुसार कार्यक्रमको सुरुमा प्रधानाध्यापकले ’खाजा खाएपछि नाच्न दिने’ वाचा गरेका थिए । तर, खाजा खाइसकेपछि विद्यार्थीहरू नाच्न तयारी गर्दै गर्दा प्रधानाध्यापकले अचानक साउन्ड सिस्टमको तार निकालेर आफ्नो कार्यकक्षमा छिरेको उनीहरूको दाबी छ ।
“सरले पहिले खाजा खाएपछि नाच्नु भन्नुभएको थियो, तर पछि आफैँले तार निकालेर जानुभयो,“एक विद्यार्थीले भने, “हामीले तार किन निकाल्नुभएको र बाचा किन तोड्नुभएको भनेर सोध्न जाँदा उल्टै छडीले हिर्काउनुभयो ।”
वाचाअनुसार कार्यक्रम अघि बढाउन माग गर्दै कार्यकक्षमा पुगेका विद्यार्थीमाथि प्रधानाध्यापकले छडी प्रहार गरेको आरोप लागेको छ । आफ्ना सहपाठीमाथि शिक्षकबाटै कुटपिट भएपछि कक्षा १० का विद्यार्थीहरू थप आक्रोशित बनेका छन् ।
घटनापछि विद्यालयमा केही समय तनाव उत्पन्न भएको थियो । यसबारे प्रधानाध्यापक सिंहको आधिकारिक धारणा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । स्थानीय अभिभावक र शिक्षाप्रेमीहरूले विद्यालय जस्तो पवित्र मन्दिरमा सानो विषयलाई लिएर विद्यार्थीमाथि हात हाल्नु निन्दनीय भएको प्रतिक्रिया दिएका छन् ।

















