Logo

५ फागुन, जिराभवानी (पर्सा) । पर्साको जिराभवानी मन्दिरमा आयोजित महाशिवरात्री मेलामा ठेकेदारले व्यापारी र सर्वसाधारणबाट मनोमानी ढंगले कर असुली गरिरहेको पाइएको छ । गाउँपालिकाले तोकेको आधिकारिक दररेटलाई चुनौती दिँदै ठेकेदारले कतिपय शीर्षकमा ६ गुणासम्म बढी रकम उठाएको पाइएको हो ।

जिराभवानी गाउँपालिका र ठेकेदार प्रेम ख्वास थारुबीच भएको सम्झौता अनुसार मेलामा व्यापार गर्नेहरूका लागि जग्गा वितरण बापत प्रति वर्गफिट १० रुपैयाँ लिनुपर्ने प्रावधान छ । तर, ठेकेदारले व्यापारीहरूबाट प्रति वर्गफिट ६० रुपैयाँसम्म असुल्ने गरेको खुलेको छ।

कालिकामाई गाउँपालिकाबाट बदाम बिक्री गर्न आएका व्यापारी सुरेन्द्र साहले ४० वर्गफिटको सानो ठाउँको लागि २ हजार ४ सय रुपैयाँ बुझाउनु परेको गुनासो गरे। “पालिकाको दर अनुसार ४ सय रुपैयाँ तिर्नुपर्ने ठाउँमा २ हजार ४ सय लिए,” साहले भने, “त्यति मात्र होइन, दैनिक बिक्री गरे बापत छुट्टै ५० रुपैयाँ समेत बुझाउनु परिरहेको छ।”

यस्तै, माछा व्यवसायी सन्तोष पासवानको पीडा झन् फरक छ । ५० रुपैयाँ प्रतिदिन कर लाग्ने नियम भए पनि उनले दैनिक ३ सय रुपैयाँ नगद र आधा किलो माछा ठेकेदारलाई बुझाउनु परेको बताए ।

जिराभवानी-४ का वडाध्यक्ष राजेश्वर दास थारुका अनुसार मोटरसाइकल पार्किङमा समेत व्यापक ठगी भइरहेको छ । पालिकाले प्रति मोटरसाइकल २० रुपैयाँ रेट तोकेको भए पनि पार्किङ स्ट्यान्डले ५० रुपैयाँ असुलिरहेको उनले बताए । “मेला अनुगमन समितिलाई यसबारे जानकारी गराउँदा पनि कुनै चासो नदिएको र समिति निष्क्रिय देखिएको छ,” वडाध्यक्ष थारुले आक्रोश पोखे ।

आफूमाथि लागेको आरोपका सम्बन्धमा ठेकेदार प्रेम ख्वास थारुले पार्किङमा ५० रुपैयाँ लिएको स्वीकार गरेका छन् । उनले अन्य मेला र म्याचहरूमा पनि ५० रुपैयाँ नै लिने गरिएको भन्दै आफ्नो कार्यको बचाउ गरे । जग्गाको हकमा भने मुख्य र शाखा सडकको आधारमा दररेट फरक परेको उनको दाबी छ, जुन पालिकाको सम्झौता विपरीत देखिन्छ ।

जिराभवानी मेला अनुगमन समितिका सचिव ऋषि हाजराले ठेकेदारलाई निर्धारित दररेटमा मात्र कर उठाउन मौखिक र लिखित निर्देशन दिइएको बताए । “मंगलबारसम्म पनि सुधार नभए अनुगमन टोलीले प्रत्यक्ष कारबाही प्रक्रिया अगाडि बढाउनेछ,” हाजराले भने ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका पर्यटक र भक्तजनको घुइँचो लाग्ने पवित्र मेलामा ठेकेदारले गरेको यस्तो ‘खुलेआम ठगी’ ले पालिकाको साखमा समेत प्रश्न उठेको छ ।

जिराभवानी मन्दिर परिसरमा महाशिवरात्रिको अवसर पारेर आइतबारदेखि सुरु भएको विशेष मेला आगामी शनिबारसम्म चल्ने भएको छ। एक साता लामो यस धार्मिक तथा व्यापारिक मेलामा भक्तजन र व्यापारीको उत्साहजनक उपस्थिति रहे पनि ठेकेदारको मनोमानी असुलीले मेलाको रौनकलाई प्रभावित पारेको छ।


सम्बन्धित समाचार