Logo

५ फागुन, काठमाडौँ । बंगलादेशमा दुई दशकपछि बंगलादेश नेसनल पार्टी (बीएनपी) औपचारिक रूपमा सत्तामा फर्कदैछ। गत फेब्रुअरी १२ मा सम्पन्न १३औँ राष्ट्रिय संसदीय निर्वाचनमा भारी बहुमत प्राप्त गरेपछि बीएनपीका अध्यक्ष तारिक रहमानले मंगलबार प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । दक्षिण एसियाली राजनीतिमा निकै चासोका साथ हेरिएको यो सत्ता परिवर्तनले बंगलादेशमा अवामी लिगको लामो शासनकालको अन्त्य गरेको छ।

मन्त्रिपरिषद्को शपथग्रहण समारोह संसद भवनको साउथ प्लाजामा आयोजना गरिनेछ । राष्ट्रपति भवनमा शपथ गराउने दशकौँ पुरानो परम्परा तोड्दै खुला परिसरमा कार्यक्रम गर्न लागिएको हो । सन् २०२४ को ‘मनसुन क्रान्ति’ का क्रममा ज्यान गुमाएका सहिदप्रति सम्मान व्यक्त गर्न यसपटक स्थान परिवर्तन गरिएको जनाइएको छ । उक्त आन्दोलनले आवामी लिग नेतृत्वको लामो कार्यकाल अन्त्य गरेको थियो ।

मंगलबार नै नयाँ संसदीय कार्यकालको औपचारिक सुरुवात हुने कार्यक्रम छ । बिहान १०:०० बजे नवनिर्वाचित २९७ सांसदलाई प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले संसदको ओथ रुममा शपथ खुवाउनेछन् । त्यसपछि उनीहरूले संवैधानिक सुधार परिषद्को सदस्यता ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।

सबैभन्दा पहिले बीएनपी संसदीय दलका सांसदहरूले, रहमानसहित, शपथ लिनेछन् । त्यसपछि क्रमशः बंगलादेश जमात-ए-इस्लामी, नेशनल सिटिजन पार्टी, बंगलादेश खिलाफत मजलिस, खेलफत मजलिस, गण अधिकार परिषद, बंगलादेश जातीय पार्टी, गणसंहति आन्दोलन तथा स्वतन्त्र सांसदहरूको पालो आउनेछ ।

आधिकारिक नतिजाअनुसार बीएनपीले २०९ सिट जितेको छ भने उसका सहयोगी दल गण अधिकार परिषद र बंगलादेश जातीय पार्टीले एक–एक सिट जितेका छन् । गणसंहति आन्दोलनले पनि प्रतिनिधित्व सुरक्षित गरेको छ । उता ६८ सिटसहित जमात–ए–इस्लामी प्रमुख प्रतिपक्षी दल बनेको छ । उसका गठबन्धन साझेदार नेशनल सिटिजन पार्टी (६), बंगलादेश खिलाफत मजलिस (२) र खेलफत मजलिस (१) रहेका छन् । इस्लामी आन्दोलन बंगलादेश ले एक सिट जित्दा सात क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यसअघि निर्वाचन आयोगले २९९ मध्ये २९७ संसदीय सिटको राजपत्र प्रकाशित गरिसकेको छ । कानुनी जटिलताका कारण चट्टोग्राम–२ र चट्टोग्राम–४ को नतिजा रोकिएको छ भने शेरपुर–३ मा उम्मेदवारको मृत्यु भएपछि मतदान स्थगित गरिएको थियो ।

दिउँसो ४:०० बजे राष्ट्रपति मोहम्मद सहाबुद्दिन ले साउथ प्लाजामै नयाँ मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ खुवाउने कार्यक्रम रहेको छ । संसद सचिवालयका अनुसार समारोहको तयारी तीव्र पारिएको छ ।

सांसदहरूको शपथपछि पूर्ण बहुमत प्राप्त बीएनपी संसदीय दलको बैठक बस्नेछ, जसले संसदीय दलको नेता चयन गर्नेछ । सोही नेताले राष्ट्रपतिसमक्ष सरकार गठनको दाबी पेश गर्नेछन् । त्यसपछि राष्ट्रपतिले औपचारिक रूपमा प्रधानमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् गठन प्रक्रिया अघि बढ्नेछ ।

समारोहमा करिब एक हजार स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाको सहभागिता रहने अपेक्षा गरिएको छ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र भारतको लोकसभाका सभामुख ओम बिर्ला को उपस्थिति निश्चित भइसकेको छ ।

यसैगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम लगायतका सरकार प्रमुखहरूलाई पनि निमन्त्रणा गरिएको थियो । नयाँ दिल्लीमा हुने ‘इन्डिया–एआई इम्प्याक्ट समिट’ का कारण मोदीको प्रतिनिधित्व सभामुख बिर्लाले गर्ने कार्यक्रम रहेको छ ।

क्षेत्रीय कूटनीतिक महत्वसमेत जोडिएको शपथ समारोहले दक्षिण एसियाली राजनीतिक परिदृश्यमा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार