Logo

५ फागुन,वीरगञ्ज ।  सशस्त्र प्रहरी बल नेपालनेपाल प्रहरीको संयुक्त टोलीले पकहाँमैनपुर गाउँपालिकाबाट १६० किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा सोमबार सञ्चालन गरिएको अपरेसनका क्रममा मधुवनीचोकतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२च ५४३२ नम्बरको सुजुकी स्वीफ्ट कार रोकी जाँच गर्दा ठूलो परिमाणमा लागूऔषध फेला परेको हो। कार चालक बुद्धिलाल घलानलाई गाँजा डिक्कीबाट फ्याँक्ने प्रयास गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीका अनुसार पक्राउ परेका घलानलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको छ। “यो अपरेसन विशेष सूचनाका आधारमा सञ्चालन गरिएको थियो,” उनले बताए।

सुरक्षा निकायका अनुसार घलानको साथबाट २२ हजार ५०० रुपैयाँ नगद र रियलमी कम्पनीको स्मार्टफोनसमेत बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट बरामद गाँजा भारततर्फ तस्करी गर्न लागिएको खुलेको छ।

सीमावर्ती क्षेत्र भएकाले पर्सा जिल्ला लागूऔषध ओसारपसारको संवेदनशील मार्गका रूपमा चिनिँदै आएको छ। सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी कडा बनाएको र तस्करी नियन्त्रणका लागि नियमित अपरेसन सञ्चालन भइरहेको जनाएको छ।


सम्बन्धित समाचार