Logo

५ फागुन,वीरगञ्ज । एलाईड युथ सोसाइटी  वीरगञ्जको आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहयोगमा ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ग्लोबल बिजनेस कलेज मा आयोजना गरिएको थियो।

कक्षा ११ र १२ का २५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा ट्राफिक सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। ट्राफिक संकेत चिन्हको परिचय, सुरक्षित रूपमा सडक पार गर्ने विधि, सवारी चालकले पालन गर्नुपर्ने नियम, हेल्मेट तथा सिटबेल्टको अनिवार्यता, दुर्घटना न्यूनीकरणका उपाय र प्राथमिक उपचारसम्बन्धी आधारभूत जानकारी समेटिएको प्रशिक्षण दिइएको थियो। कार्यक्रम अन्तर्गत प्रश्न–उत्तर तथा अन्तरक्रिया सत्रसमेत सञ्चालन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि युवराज कटवालले ट्राफिक नियम पालना जीवन सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै विद्यार्थीहरू सचेत बने समाज पनि सुरक्षित बन्ने धारणा व्यक्त गरे।

कार्यक्रमको सञ्चालन एलाईड युथ सोसाइटीका सचिव सन्नी श्रीवास्तव र विभागीय प्रमुख नगेन्द्र मनुराजले गरेका थिए। सदस्यहरू सोनु गुप्ता र प्रितम यादवको सक्रिय सहयोग रहेको आयोजकले जनाएको छ। साथै संस्थापक ओम झाको विशेष उपस्थिति रहेको थियो।

सचेतनाबाटै सुरक्षित र अनुशासित समाज निर्माण सम्भव हुने सन्देशसहित सम्पन्न कार्यक्रमले विद्यार्थीहरूमा ट्राफिक नियमप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुगेको विश्वास आयोजकले व्यक्त गरेका छन्।


सम्बन्धित समाचार