६ फागुन, काठमाडौं । दुर्गा प्रसाईंविरुद्ध अफवाह फैलाएको आरोपमा म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको छ। उनलाई सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरी परिसरको हिरासतमा राखिएको छ। परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले अफवाह फैलाएको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिने तयारी भइरहेको जानकारी दिएका छन्।
प्रसाईंमाथि निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोप छ। उनले २१ फागुनमा कुनै हालतमा निर्वाचन नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए।
यसअघि पनि उनी वीरगञ्ज जान लागेका बेला चाल्नाखेलबाट पक्राउ परेका थिए भने त्यसअघि पोखराबाट समेत नियन्त्रणमा लिइएका थिए। निर्वाचनको मिति घोषणा भएयता प्रसाईं तीन पटक पक्राउ परिसकेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

















