५ फाल्गुण, काठमाडौं । काठमाडौँको सडकमा गुडिरहेको कारबाट ओर्लिएर एक निरिह पैदलयात्रीमाथि कुटपिट गर्ने गेर उग्र बन्ने कार चालकको अहिले तीब्र खोजि भैरहेको छ ।
सामाजिक सञ्जालमा फैलिएको एउटा विचलित पार्ने भिडियोमा ती चालकले सडककै बीचमा पैदलयात्रीलाई मुक्का प्रहार गर्दै गुण्डागर्दी शैलीमा उत्रिएको देखिएपछि प्रहरीले उनको खोजीमा व्यापक अपरेसन सुरु गरेको हो । भिडियोमा साझा यातायातको बस समेत देखिएकाले यो घटना काठमाडौँ उपत्यकाभित्रकै भएको पुष्टि गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले अपराधीलाई कानुनी कठघरामा ल्याउन कुनै कसर बाँकी नराख्ने उद्घोष गरेको छ ।
प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले भिडियो प्रमाणका रूपमा सुरक्षित भइसकेको र कारको नम्बर प्लेटका आधारमा दोषीको पहिचान गर्ने कार्य युद्धस्तरमा भइरहेको जानकारी दिनुभएको छ । भिडियोमा कार चालकले मात्र नभई उनीसँगै रहेकी एक महिलाले समेत ती पैदलयात्रीलाई तल्लोस्तरको गालीगलौज गरेको स्पष्ट सुनिन्छ, जसले आम नागरिकमा ठूलो आक्रोश पैदा गरेको छ । ‘कानुन कसैको मुठ्ठीमा छैन र सडकमा कसैले आफ्नो अहङ्कार देखाएर सर्वसाधारणलाई कुट्ने छुट पाउँदैन,’ भन्दै प्रहरीले ती व्यक्तिलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा कारबाही गर्ने तयारी गरेको छ ।

















