५ फाल्गुण, काठमाडौं । नेपालको सबैभन्दा ठूलो भनिएको वाणिज्य बैंक ग्लोबल आईएमईभित्र सुशासनको नाममा आफ्नै परिवार पोस्ने डरलाग्दो जालो फेला परेको छ ।
बैंकका मार्केटिङ विभाग प्रमुख योगेश पोखरेलले आफ्नै श्रीमती प्रभा पन्थीको नाममा ‘थर्ड पोल मिडिया ग्रुप’ नामक कम्पनी खडा गरी बैंकबाटै मासिक लाखौँ रुपैयाँ कुम्ल्याउँदै आएको तथ्य बाहिरिएपछि बैंकिङ क्षेत्रमा खैलाबैला मच्चिएको छ । अझ अचम्मको कुरा त के छ भने, पोखरेलकी श्रीमती पन्थी स्वयम् सोही बैंकको मनमैजु शाखामा जागिरे छिन् । श्रीमान् बैंकको मार्केटिङ प्रमुख हुने र श्रीमतीको कम्पनीलाई बैंककै बजेट सुम्पिने यो ‘नाङ्गो नाच’ ले बैंकिङ सुशासनको धज्जी उडाएको छ । यो प्रकरण बाहिरिएसँगै नियामक निकाय नेपाल राष्ट्र बैंकले सिईओ सुरेन्द्र राज रेग्मी, डेपुटी सिईओ सुमन पोखरेल र मार्केटिङ प्रमुख योगेश पोखरेलमाथि डण्डा चलाउँदै लिखित स्पष्टीकरण सोधेको छ ।
राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले यो ‘पारिवारिक सेटिङ’ लाई गम्भीर वित्तीय अपराध र स्वार्थको द्वन्द्वको पराकाष्ठा ठानेको छ । निर्देशक ईश्वरीप्रसाद भट्टराईका अनुसार नियमित अनुगमनका क्रममा बैंकभित्रैबाट आफ्नै खल्ती भर्ने गरी गरिएको यो कैफियत अक्षम्य छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को धज्जी उडाउँदै पदको दुरुपयोग गरी व्यक्तिगत फाइदा लिने यस्तो प्रवृत्तिले निक्षेपकर्ताको विश्वासमाथि नै गम्भीर प्रश्न उठाएको छ । यस प्रकरणमा बैंकको उच्च व्यवस्थापनले नै आँखा चिम्लिएर पोखरेललाई सघाएको आशङ्का गरिएको छ, जसका कारण राष्ट्र बैंकले नेतृत्व तहलाई नै जवाफदेही बनाउन खोजेको हो ।
यति ठूलो आर्थिक अनियमितता र सुशासनको उल्लङ्घन हुँदा समेत बैंक व्यवस्थापनले दोषीलाई निलम्बन गर्न देखाएको ढिलासुस्तीले अनेकौँ आशङ्का जन्माएको छ । बजारमा मार्केटिङ प्रमुख पोखरेल बैंकका अध्यक्ष चन्द्र ढकालको ‘खास मान्छे’ भएकै कारण उनीमाथि कारबाही गर्न व्यवस्थापन डराएको चर्चा चलिरहेको छ ।
सूचना अधिकारी सुमन पोखरेलले फोन नउठाउने र सत्य लुकाउन खोज्ने प्रवृत्तिले बैंकभित्रको बेथिति अझै गहिरो रहेको सङ्केत गर्छ । यद्यपि, राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले वित्तीय अपराधमा संलग्न जोकोहीलाई नछाड्ने र दोषी भेटिए बैंकबाटै बर्खास्त गर्नेसम्मको कडा चेतावनी दिएपछि यो ‘लुटको जालो’ तोडिने अपेक्षा गरिएको छ ।

















