५ फाल्गुण, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले खडा गरेको ६२ करोड १९ लाखभन्दा बढीको अवैध सम्पत्ति आर्जनको ‘कालो साम्राज्य’ माथि विशेष अदालतले कडा निगरानी सुरु गरेको छ ।
मंगलबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले पौडेलको भ्रष्टाचार जालो छिचोल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट थप प्रमाण र कागजात झिकाउने आदेश दिएको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा इन्जिनियर हुँदै पदको दुरुपयोग गरी आपूर्तिकर्ताबाट असुलेको मोटो कमिसनलाई परिवारका सदस्यका नाममा लुकाएको अभियोग लागेका पौडेलमाथि अब अदालतले प्रमाणकै आधारमा अन्तिम फैसलाको तयारी थालेको सङ्केत दिएको छ ।
अख्तियारको दाबीअनुसार पौडेलले राज्यको महत्वपूर्ण निकायमा बसेर गरेको लुटको रकम श्रीमती एलिना बस्नेत, बाबु धर्मप्रसाद र आमा शितलको नाममा परिचालन गरेका थिए । सोही कारण अदालतले उनीहरू सबैलाई प्रतिवादी बनाएर सम्पत्ति जफत गर्ने प्रक्रिया अघि बढाएको छ । सरकारी सेवामा रहँदा पदीय मर्यादा बिर्सेर ६२ करोडभन्दा बढीको अकुत सम्पत्ति आर्जन गरेको यो मुद्दालाई पछिल्लो समयको ठुलो ‘ह्वाइट कलर क्राइम’ मानिएको छ । आपूर्तिकर्तासँगको अस्वभाविक साँठगाँठ र कमिसनको चलखेलबाट आर्जित यो धनले पौडेल परिवारलाई नै कानुनी कठघरामा उभ्याएको छ ।
अदालतले प्रमाण झिकाउने आदेश दिएसँगै यो मुद्दा अब निर्णायक मोडमा पुगेको छ । पदमा रहँदा शक्ति र पैसाको दम्भ देखाउने पौडेलका विरुद्ध संकलन गरिएका प्रमाणहरूले उनको भ्रष्टाचारको जालो कति गहिरोसँग फैलिएको छ भन्ने कुरालाई स्पष्ट पार्नेछ । आम नागरिकले यो भ्रष्टाचार काण्डलाई निकै चासोका साथ हेरिरहेको बेला विशेष अदालतको यो सक्रियताले सुशासन र भ्रष्टाचारीमाथि कारबाहीको आश जगाएको छ । अब अख्तियारले बुझाउने थप प्रमाणहरूले पौडेलको भविष्य र जफत हुने करोडौँको सम्पत्तिको अन्तिम फैसला गर्नेछ ।

















