५ फाल्गुण, काठमाडौं । काठमाडौँको चप्पल कारखाना नजिकै सडकमा हिँडिरहेका निरिह पैदलयात्रीमाथि अमानवीय शैलीमा मुक्का प्रहार गरी डन बन्न खोज्ने कार चालक पारस बम अन्ततः कानुनको फन्दामा परेका छन् ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि देशभरबाट उठेको आक्रोश र प्रहरीको चौतर्फी खोजीका बीच ट्राफिक प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । सडकमा गाडीको दम्भ देखाउँदै सर्वसाधारणमाथि जाइलाग्ने ती चालकलाई प्रहरीले ुअपरेसनु नै चलाएर नियन्त्रणमा लिएपछि अहिले सामाजिक सञ्जालमा खुसीयाली छाएको छ । चप्पल कारखानाको उक्त घटनापछि फरार रहेका बमलाई ट्राफिक प्रहरीले विशेष सुराकीका आधारमा नियन्त्रणमा लिएर थप कानुनी कारबाहीका लागि हिरासतमा पठाएको छ ।
सडक कसैको निजी सम्पत्ति होइन र गाडी चढ्दैमा कसैलाई कुट्ने अधिकार हुँदैन भन्ने कुरालाई बेवास्ता गर्दै मुक्का प्रहारमा उत्रिएका बममाथि अब सार्वजनिक शान्ति विरुद्धको कसुर र कुटपिट अन्तर्गत कडा मुद्दा चलाइने तयारी गरिएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका चालकको अहङ्कारलाई कानुनी डण्डाले तह लगाउने रणनीति प्रहरीले लिएको छ ।
भिडियोमा देखिएको उनको उद्दण्डताले आम नागरिकको सुरक्षामाथि नै प्रश्न उठाएको थियो, जसको जवाफ प्रहरीले उनलाई हतकडी लगाएर दिएको छ । यो गिरफ्तारीले सडकमा अराजकता फैलाउने र सानालाई हेप्ने जोकोहीका लागि एउटा बलियो चेतावनी दिएको छ ।

















