Logo

५ फागुन,वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार रिमा यादवले पर्सागढी नगरपालिका–१ मा घरदैलो कार्यक्रम सम्पन्न गर्दै चुनावी अभियानलाई तीव्र बनाएकी छन्। वडा नम्बर–१ का विभिन्न टोल–बस्तीमा पुगेर उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट र छलफल गरेकी हुन्।

कार्यक्रमको सुरुवात स्थानीय धार्मिक स्थल कोइलाभार मन्दिरमा पूजा–अर्चनाबाट गरिएको थियो। त्यसपछि उनले घरदैलोमार्फत मतदातासँग संवाद गर्दै आफ्नो चुनावी एजेन्डा र भावी योजनाबारे जानकारी दिइन्।

घरदैलोका क्रममा स्थानीयले ढाका टोपी, दुवोको माला र खादा ओढाएर उम्मेदवार यादवको स्वागत गरेका थिए। कतिपय स्थानमा महिलाहरूले टीका–अक्षता लगाइ शुभकामना व्यक्त गरेका थिए। यस अवसरमा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारीका विषयमा आफ्ना समस्या र अपेक्षा राखेका थिए।

यादवले निर्वाचित भए आधारभूत पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, महिला तथा युवाका लागि रोजगारी सिर्जना र कृषकका लागि सहज बजार व्यवस्था सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिन्। जनताको साथ पाए भ्रष्टाचाररहित, पारदर्शी र जनउत्तरदायी नेतृत्व दिने उनको दाबी थियो।

घरदैलो कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता, युवा तथा महिला संगठनका प्रतिनिधि, समाजसेवी र शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको बताइएको छ। पछिल्ला दिनहरूमा पर्साका विभिन्न गाउँ–टोलमा रिमा यादवको अभियानमा जनताको उत्साहजनक उपस्थिति देखिएको पार्टीले जनाएको छ।


सम्बन्धित समाचार