Logo

५ फाल्गुण, काठमाडौं । आगामी फागुन २१ गते हुने उपनिर्वाचनको सरगर्मीका बीच नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ का लागि ४२ बुँदे चुनावी महा–सङ्कल्प सार्वजनिक गर्दै विपक्षीहरूलाई कडा चुनौती दिनुभएको छ ।

सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षालाई मूल मन्त्र बनाइएको यो प्रतिबद्धता पत्रमा ओलीले पछिल्लो समय राजनीतिमा देखिएको स्टन्टबाजी र पपुलिजम (लोकरिझ्याइँ) माथि चर्को प्रहार गर्नुभएको छ । विशेष गरी सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग गरेर फैलाईएका भ्रमहरूलाई चिर्दै मुलुकलाई राजनीतिक स्थायित्व दिन एमाले नै निर्विकल्प शक्ति भएको दाबी उहाँको प्रतिबद्धता पत्रमा गरिएको छ । ओलीले दमक सभाहल सञ्चालनदेखि आदिवासी सङ्ग्रहालय निर्माणसम्मका अधुरा कामहरू पूरा गर्ने जिम्मा एमालेकै काँधमा रहेको जिकिर गर्नुभएको छ ।

राजनीतिक अस्थिरताका कारण मुलुकले ठुलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै ओलीले अबको प्राथमिकता सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता नै हुने स्पष्ट पार्नुभएको छ। नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू–जडित बनाउने कूटनीतिक लक्ष्यदेखि प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्‍याउनेसम्मका विकासका मोडलहरूलाई उनले ४२ बुँदामा समेट्नुभएको छ । विगतमा एमाले नेतृत्वको सरकारले सुरु गरेका तर हाल अलपत्र परेका आयोजनाहरूलाई पुनः गति दिने सङ्कल्प गर्दै ओलीले आफूलाई विजयी गराउन झापा–५ का मतदातासँग जोडदार अपील गर्नुभएको छ । यो प्रतिबद्धता पत्र केवल चुनावी नारा मात्र नभई समृद्ध झापा र समृद्ध नेपालको मार्गचित्र भएको दाबी एमालेले गरेको छ ।

ओलीको यो ४२ बुँदे दस्तावेजले यतिबेला झापाको राजनीतिमा मात्र नभई राष्ट्रिय राजनीतिमा समेत नयाँ बहस छेडेको छ । स्टन्ट गर्ने नयाँ शक्तिहरूलाई कटाक्ष गर्दै ओलीले आफ्नो अनुभव र विकासको भिजनलाई मतदातासामु अन्तिम परीक्षाु का रूपमा पेस गर्नुभएको देखिन्छ । छिमेकी मुलुकहरूसँगको व्यापार र पारवहन सन्धिलाई उचाइमा पुर्‍याउने रणनीतिक दाबीले उहाँको यो निर्वाचन क्षेत्रप्रतिको योजना कति गहिरो छ भन्ने सङ्केत गर्छ । अब झापा–५ का मतदाताले ओलीका यी ४२ बुँदे सङ्कल्पलाई कसरी विश्वास गर्छन् र फागुन २१ को नतिजाले यसलाई कसरी अनुमोदन गर्छ, त्यो भने हेर्न बाँकी छ ।


सम्बन्धित समाचार