५ फागुन, वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ। यसैक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दासले घरदैलो अभियानलाई तीव्र बनाएका छन्।
परिवर्तनका लागि युवा नेतृत्व र भरोसाको केन्द्र भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका दासले पर्सागढी नगरपालिका वडा नम्बर–३ औरहिया र बढनिहारमा आम जनसमुदायसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्। उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनाव चिन्ह ‘आँखा’ छापमा मतदान गरी विजयी गराउन अपिल गरे।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले ‘आँखा’ छापमा मतदान गर्ने प्रतिबद्धता जनाउँदै उम्मेदवार दासलाई निरन्तर जनतासँग सम्पर्कमा रहन सुझाव दिएका थिए।
उम्मेदवार दासले पर्सा जिल्लालाई कृषि तथा व्यापारिक हबका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्।
निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्रमा विभिन्न दलका उम्मेदवारहरू प्रचार–प्रसार, रणनीतिक समीकरण र मतदाता केन्द्रित कार्यक्रमहरूमा सक्रिय देखिएका छन्।

















