५ फागुन,काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनअघि मत सर्वेक्षण गरी प्राप्त नतिजा सार्वजनिक नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित मतदाता शिक्षा तथा निर्वाचन प्रचार–प्रसारसम्बन्धी सामाजिक सञ्जालका लोकप्रिय संघ–संस्था र कलाकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। निर्वाचनको निष्पक्षता, पारदर्शिता र स्वतन्त्र वातावरण कायम राख्न सबै सरोकारवालाको जिम्मेवारी महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले विशेषगरी सञ्चारमाध्यमलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न सचेत गराए।
मतदाताको स्वतन्त्र निर्णयमा असर पर्ने चिन्ता
भण्डारीले पछिल्लो समय मतदान हुनुअघि नै मतदातासँगको अनौपचारिक कुराकानी वा सीमित सर्वेक्षणका आधारमा हार–जीतको अनुमान सार्वजनिक गर्ने प्रवृत्ति बढ्दै गएको बताए। यस्तो अभ्यासले मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित पार्न सक्ने र उम्मेदवारहरूलाई हतोत्साही बनाउन सक्ने उनको भनाइ थियो।
“निर्वाचन आचारसंहिता २०८२ ले प्रस्ताव गरेको मतदाताको स्वतन्त्र निर्णयको सिद्धान्तलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन,” उनले भने, “नतिजा पहिल्यै घोषणा गरिदिँदा प्रतिस्पर्धाको वातावरणमा खलल पुग्न सक्छ, त्यसैले आयोगको तर्फबाट यस्ता गतिविधि नगर्न विनम्र अनुरोध गर्दछु।”
उनका अनुसार निर्वाचन प्रक्रिया स्वच्छ र विश्वसनीय रहनका लागि मतदानअघि कुनै पनि प्रकारको अनुमानित नतिजा सार्वजनिक गर्नु उचित हुँदैन। यसले मतदातामा भ्रम सिर्जना गर्नुका साथै निर्वाचन परिणामप्रति अविश्वास पैदा गर्ने खतरा रहने उनले औँल्याए।
प्रविधिको दुरुपयोगप्रति गम्भीर चिन्ता
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रविधिको तीव्र विकाससँगै देखिएको नयाँ चुनौतीबारे पनि चिन्ता व्यक्त गरे। विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी तयार गरिने भ्रामक सामग्री, हेरफेर गरिएका भिडियो वा अडियो सामग्री तथा गलत सूचना सामाजिक सञ्जालमार्फत तीव्र गतिमा फैलिन सक्ने भएकाले यसप्रति सबै सचेत हुनुपर्ने उनले बताए।
“प्रविधिले सूचना प्रवाहमा सहजता ल्याएको छ, तर यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम छ,” उनले भने, “आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न र नगराउन सबै पक्षले सहयोग गर्नुपर्छ।”
उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरू, अनलाइन मिडिया, डिजिटल सामग्री निर्माता तथा कलाकारहरूलाई जिम्मेवार अभिव्यक्ति दिन आग्रह गर्दै निर्वाचनको संवेदनशील समयमा सत्य, तथ्य र प्रमाणमा आधारित सूचना मात्र प्रवाह गर्न अनुरोध गरे।
आचारसंहिताको पूर्ण पालना गर्न आह्वान
भण्डारीले निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिक सबैले आफ्नो–आफ्नो जिम्मेवारी बुझेको हुनुपर्ने स्पष्ट पारे।
उनले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउने दायित्व आयोग मात्रको नभई सम्पूर्ण समाजको भएको उल्लेख गर्दै जिम्मेवार आचरण र संयमित अभिव्यक्तिले मात्र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सकिने बताए।
आयोगले आगामी दिनमा आचारसंहिताको कार्यान्वयनलाई कडाइका साथ अनुगमन गर्ने संकेतसमेत दिएको छ। निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम राख्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताको भूमिका निर्णायक हुने आयोगको धारणा छ।

















