Logo

 ५ फागुन,काठमाडौं । करिब २५० जना नेपाली नागरिकलाई अवैध मार्गबाट अमेरिका पठाएको आरोपमा दुई जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ।

मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्यूरोले रुकुम पश्चिम बाफिकोट गाउँपालिका–२ का कलबहादुर बस्नेत र रुकुम पूर्व सिस्ने गाउँपालिका–५ का अमित बस्नेतविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

ब्यूरोका प्रवक्ता एसपी राजन लिम्बुका अनुसार कलबहादुर बस्नेत यसअघि नै मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भइसकेका छन् भने अमित बस्नेत फरार रहेका छन्।

प्रहरीले कलबहादुरको नाममा विभिन्न बैंक खातामा रहेको ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ ३३ पैसा कसुरजन्य कार्यबाट आर्जित रकम भएको दाबी गर्दै उक्त रकम बिगो कायम गरी मागदाबी लिएको छ। त्यस्तै अमित बस्नेतको नाममा रहेको २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ ९४ पैसा पनि अवैध आम्दानी भएको दाबी गरिएको छ।

अनुसन्धानका क्रममा प्रतिवादीहरूले विभिन्न देश हुँदै करिब २५० नेपालीलाई गैरकानुनी रूपमा अमेरिका पुर्‍याएको तथा केहीलाई बीच बाटोमै अलपत्र पारेको खुलेको प्रहरीले जनाएको छ। उनीहरूमाथि मानव बेचबिखन, ठगी तथा वैदेशिक रोजगार ठगीसम्बन्धी कसुर समेत गरेको आरोप छ। अवैध रूपमा आर्जित रकम नगद तथा आफ्नै नाममा सञ्चालनमा रहेका बैंक खातामा जम्मा गराउने गरेको प्रहरीको दाबी छ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार बिगोको दोब्बर जरिवाना र कसुरको प्रकृतिअनुसार दुईदेखि १५ वर्षसम्म कैद सजायको माग गरिएको छ। साथै प्रतिवादीहरूको नाममा रहेका घरजग्गा, बैंक मौज्दात तथा बीमा रकम दफा ३४ बमोजिम जफत गर्न अदालतसमक्ष मागदाबी गरिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।


सम्बन्धित समाचार