Logo

५ फागुन, वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर ३ मा उम्मेदवार छोटेलाल प्रसाद यादवलाई जिताउन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ’निर्वाचन परिचालन समिति’ गठन गरेको छ ।

बहुअर्वा भठ्ठाको प्राङ्गणमा आयोजित एक भव्य भेलाका बीच शिवजी प्रसाद सोनीको संयोजकत्वमा क्षेत्र स्तरीय निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । निर्वाचन आउन अब १५ दिन मात्र बाँकी रहँदा चुनावी रणनीति तयार गर्न र मतदातामाझ प्रभावकारी रूपमा पुग्न यो समिति गठन गरिएको पार्टीले जनाएको छ ।

पार्टीले चुनावी कमान्डलाई व्यवस्थित बनाउन दुवै प्रदेश सभा क्षेत्रका लागि छुट्टाछुट्टै संयोजक समेत तोकेको छ । जसअनुसार क्षेत्र नम्बर ३.१ मा बालेश्वर चौधरी र क्षेत्र नम्बर ३.२ मा प्रशुराम यादवलाई संयोजकको जिम्मेवारी दिइएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य किशोरी कुशवाहा र रामबाबु बैठालाई सल्लाहकारको जिम्मेवारी दिइएको छ । भेलामा सहभागी नेता विपिन यादव, नागेन्द्र चौधरी र रामचन्द्र साह लगायतका नेताहरुले सम्बोधन गर्दै यो निर्वाचन राष्ट्रिय स्वाधीनता र विकासका लागि निर्णायक हुने बताए ।

समितिका संयोजक सोनीले अबको १५ दिन ’करो या मरो’ को अवस्थामा रहेकाले गाउँ–गाउँ र घर–घरमा पुगेर तारा छापमा मतदान गर्न अपिल गर्ने बताए । उनले भने, “हाम्रो साझा लक्ष्य भनेकै प्रतिनिधि सभा सदस्यका उम्मेदवार छोटेलाल प्रसाद यादवलाई भारी मतले विजयी गराउनु हो । क्षेत्र नम्बर ३ को समग्र विकासका लागि उनको जित अपरिहार्य छ ।“

भेलाले चुनावी एजेन्डा, घरदैलो कार्यक्रम र बुथ व्यवस्थापनका विषयमा ठोस कार्ययोजना समेत पारित गरेको छ । पर्सा–३ मा यसपटक वाम शक्तिहरूको एकीकरणले निर्वाचन परिणाम रोचक हुने आकलन गरिएको छ ।


सम्बन्धित समाचार