Logo

६ फागुन, सिरहा । सिरहाको गोलबजार नगरपालिका-८ स्थित एक पेट्रोल पम्पमाथि डिजेलमा पानी मिसावट गरी बिक्री गरेको आरोप लागेको छ । स्थानीय गणपति बाबा ट्रेड नामक पम्पबाट डिजेल भरेपछि सवारीसाधनमा समस्या देखिएसँगै मिसावटको आशंका सार्वजनिक भएको हो ।

चुनावी प्रचारमा खटिएको बा १८ च २९२५ नम्बरको स्कार्पियो गाडीमा मंगलबार दिउँसो सोही पम्पबाट ३० लिटर डिजेल भरिएको चालक सुशील यादवले बताए । उनका अनुसार पम्पबाट निस्किएको केही समयमै गाडीको इन्जिन अस्वाभाविक आवाज निकाल्दै बन्द हुन खोजेको थियो ।

“शंका लागेर गाडी पुनः पम्पमै फर्काएर ट्यांकी जाँच गर्दा डिजेलमा पानी मिसिएको देखियो,” चालक यादवले भने । उनले त्यसपछि पम्प पक्षसँग छलफल हुँदा पहिले भरेको तेल निकालेर अर्को डिजेल उपलब्ध गराउने सहमति भएपछि गाडी लिएर निस्किएको जानकारी दिए ।

घटनापछि स्थानीयवासीले गम्भीर चासो र आक्रोश व्यक्त गरेका छन् । स्थानीय आरडी यादवले यसलाई सामान्य त्रुटि नभई उपभोक्ता ठगी वा गम्भीर लापरबाही हुनसक्ने भन्दै तत्काल नमुना परीक्षण गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरे ।

सिरहामा यसअघि पनि पेट्रोलियम पदार्थमा मिसावट गरी उपभोक्ता ठगीका घटना सार्वजनिक भइसकेका छन् । पछिल्लो घटनाले अनुगमन संयन्त्र र गुणस्तर परीक्षणको प्रभावकारितामाथि पुनः प्रश्न उठाएको स्थानीयको भनाइ छ ।

यता पम्पका लेखापालले भने डिजेलमा मिसावट नगरिएको दाबी गरेका छन् । “आजसम्म यस्तो समस्या आएको थिएन, पहिलो पटक यस्तो कुरा सुनियो । के कारणले यस्तो भयो भन्नेबारे बुझ्ने प्रयास गरिरहेका छौँ,” उनले भने ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले आधिकारिक उजुरी प्राप्त भए अनुगमन अघि बढाइने बताए । “डिजेलमा मिसावट पुष्टि भए पम्प सिल गरेर कानुन बमोजिम कारबाही गरिनेछ,” उनले जानकारी दिए ।

घटनाबारे औपचारिक छानबिन सुरु हुन बाँकी रहे पनि उपभोक्ता सुरक्षासँग जोडिएको विषय भएकाले सरोकारवाला निकायको ध्यानाकर्षण भएको छ ।


सम्बन्धित समाचार
भर्खरै