Logo

६ फागुन, काठमाडौँ । नेपाल लेयर्स सङ्घले अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गर्दै आजैदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको छ । उत्पादन लागतमा भएको वृद्धिका कारण किसानहरू मर्कामा परेपछि सङ्घले बजार मूल्यमा समायोजन गरेको हो ।

नयाँ दररेटअनुसार, अब ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४२५ रुपैयाँ तोकिएको छ । त्यसैगरी, मझौला अण्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ कायम गरिएको सङ्घले जनाएको छ ।

सङ्घका अनुसार हाल अण्डाको उत्पादन लागत अत्यधिक बढेको छ। दाना, औषधि र ढुवानी खर्चमा भएको वृद्धिका कारण अहिले प्रतिगोटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा पुगेको छ ।

“उत्पादन लागत नै १९ रुपैयाँभन्दा माथि पुगेका बेला पुरानो मूल्यमा बिक्री गर्दा किसानहरू धराशायी हुने अवस्था आएकाले मूल्य बढाउनु बाध्यता भएको हो,” सङ्घका एक प्रतिनिधिले बताए ।

लामो समयदेखि लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गरिरहेका लेयर्स पालक किसानहरूलाई यो मूल्य वृद्धिले केही राहत दिने अपेक्षा गरिएको छ । यद्यपि, उपभोक्ता तहमा भने यसले भान्छाको खर्च केही बढाउने देखिएको छ। सङ्घले नयाँ मूल्य देशभरका सबै बजारमा समान रूपमा लागू गर्न समेत आग्रह गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै