६ फाल्गुण, काठमाडौं । नेपालको बढ्दो डिजिटल बजारलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले ई-कमर्स क्षेत्रमा अहिलेसम्मकै कडा कानुनी अंकुश लगाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका २०८२’ जारी गर्दै दर्ता नगरी सञ्चालनमा रहेका अनलाइन प्ल्याटफर्महरूलाई कानुनी दायरामा ल्याउने र अटेर गरे खारेज नै गर्ने चेतावनी दिएको छ । विद्युतीय व्यापार ऐन २०८१ को जगमा उभिएर ल्याइएको यो नयाँ नियमले फेसबुक, इन्स्टाग्राम वा अन्य अनलाइन माध्यमबाट हुने व्यवसायलाई सरकारी पोर्टलमा अनिवार्य सूचीकरण हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । उद्योगमन्त्री अनिलकुमार सिन्हाले स्वीकृत गरेको यो निर्देशिकाले अबको सात दिनभित्र सूचीकरण प्रक्रिया पूरा नगर्ने फर्महरूको प्ल्याटफर्म नै बन्द गर्न सक्ने अधिकार विभागलाई सुम्पेको छ ।
सरकारी कदमको मुख्य केन्द्रबिन्दु उपभोक्ताको गोपनीयता र डाटा सुरक्षामा देखिएको छ । पछिल्लो समय अनलाइन प्रयोगकर्ताहरूको व्यक्तिगत विवरण दुरुपयोग भइरहेको गुनासो बढेपछि निर्देशिकाले पासवर्ड, फोन नम्बर र ठेगाना जस्ता संवेदनशील सूचनाहरू अनिवार्य ‘इन्क्रिप्टेड’ गरी सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको छ । यदि कुनै पनि कम्पनीको प्रणालीमा समस्या आएर सूचना चुहावट भएमा तत्काल कारोबार बन्द गरी रिकभरी नगरेसम्म व्यवसाय सुचारु गर्न पाइने छैन । यसका साथै, व्यवसायीले आफ्नो कारोबारको पूर्ण विवरण र बिलबिजक कम्तीमा ५ वर्षसम्म सुरक्षित राख्नुपर्नेछ, जसले कर प्रशासन र अनुगमनलाई थप पारदर्शी बनाउने विश्लेषण गरिएको छ ।
निर्देशिकाले ई–कमर्समा हुने वित्तीय ठगी र मूल्यमा हुने मनपरीलाई पनि कडाइका साथ सम्बोधन गरेको छ । वस्तु वा सेवाको पहिले नै तोकिएको मूल्य र ढुवानी लागतबाहेक अन्य कुनै पनि लुकेको शुल्क (हिडेन चार्ज) लिन नपाइने र भुक्तानीका लागि राष्ट्र बैंकबाट स्वीकृत डिजिटल गेटवे मात्र प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । उपभोक्ता अधिकारलाई सुरक्षित गर्न प्रत्येक प्ल्याटफर्मले १५ दिनभित्र गुनासो समाधान गरिसक्नुपर्नेछ ।
यति मात्र नभई, भ्रामक विज्ञापन गर्ने र अर्डर रद्द हुँदा सात दिनभित्र पैसा फिर्ता नगर्ने व्यवसायीमाथि विभागले साइबर सुरक्षा विज्ञ र उपभोक्ता अधिकारकर्मीसहितको टोली परिचालन गरी कडा अनुगमन गर्ने तयारी गरेको छ । यसले अनलाइन सपिङमा रहेको ‘अविश्वासको खाडल’ पुर्न र डिजिटल अर्थतन्त्रलाई वैधानिक बाटोमा डोहोर्याउन कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।

















