६ फागुन,वीरगञ्ज ।मधेश प्रदेशमा सञ्चालन गरिएको बालविवाह विरुद्धको १०० दिने अभियानको समापन कार्यक्रममा माननीय मन्त्री शारदा श्रेष्ठले सुश्री दीपिका मण्डललाई अभियानको ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गर्नुभएको छ।
समापन कार्यक्रममा मन्त्री श्रेष्ठले बालविवाह जस्तो सामाजिक कुरीति अन्त्य गर्न सरकार, नागरिक समाज, युवा तथा सञ्चारमाध्यमबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले मधेश प्रदेशमा अझै पनि विद्यमान बालविवाहको समस्यालाई न्यूनीकरण गर्न लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
ब्रान्ड एम्बेसडर नियुक्त भएपछि दीपिका मण्डलले किशोरीहरूको शिक्षा, सशक्तीकरण र अधिकार सुनिश्चित गर्न समुदायस्तरमा सचेतनामूलक अभियानलाई थप प्रभावकारी बनाउने बताउनुभयो। यस अवसरमा जेवाईसी बाराले दीपिका मण्डललाई गर्वका साथ स्वागत गर्दै उनको नियुक्तिलाई प्रेरणादायी उपलब्धिका रूपमा लिएको जनाएको छ।
संस्थाले बालविवाह अन्त्य गर्ने उद्देश्यले गरिएका पहलहरूलाई सक्रिय रूपमा समर्थन र प्रवर्द्धन गर्ने दृढ प्रतिबद्धता समेत व्यक्त गरेको छ। कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, युवा तथा समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले बालबालिकाको अधिकार, मर्यादा र उज्ज्वल भविष्य सुनिश्चित गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा जेजेवाईसी बाराका राजदेव साह, सियाराम यादव, श्रीनिवास बैठा लगायतको सहभागिता रहेको थियो ।

















