७ फागुन, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई तीन फरक प्रवृत्तिबीचको प्रतिस्पर्धाको रूपमा चित्रण गरेका छन् ।
बुधबार रुकुमपूर्वको सिस्ने गाउँपालिकामा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो निर्वाचन सामान्य प्रक्रिया मात्र नभई देशको भविष्य तय गर्ने निर्णायक मोड भएको बताए ।
अध्यक्ष प्रचण्डले वर्तमान राजनीतिक परिदृश्यमा तीन प्रकारका शक्तिहरू चुनावी मैदानमा रहेको दाबी गरे। उनले विगतका हिंसात्मक घटनाहरूलाई स्मरण गर्दै मतदातालाई सचेत गराए।
“अहिलेको चुनावमा तीन प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको छ,” प्रचण्डले भने, “भदौ २३ को घटनामा युवाको हत्या गर्ने शक्ति, भदौ २४ मा आगजनी र विध्वंस मच्चाउने शक्ति र सुशासन, गणतन्त्र एवं शान्तिको पक्षमा उभिएको शक्तिबीच अहिले जनमत संग्रह भइरहेको छ।”
उनले हिंसा र विध्वंसको राजनीति गर्नेहरूलाई परास्त गर्दै शान्ति र विकासको पक्षमा उभिन मतदातालाई आग्रह गरे । “मान्छे मार्ने र आगो लगाउने शक्तिलाई रोज्ने कि ‘त्यसो गर्नुहुन्न’ भन्दै भ्रष्टाचार अन्त्यको वकालत गर्ने शक्तिलाई जिताउने? यसको फैसला अब जनताको हातमा छ,” उनले थपे ।
आफ्नो प्रधानमन्त्रीकालको स्मरण गर्दै प्रचण्डले आफूले सुशासन र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान नै सञ्चालन गरेको दाबी गरे। उनले यो निर्वाचनले देशलाई सम्भावित दुर्घटनाबाट जोगाउने विश्वास व्यक्त गरे ।
प्रचण्डले अगाडि भने, “यो निर्वाचन राष्ट्रका लागि अत्यन्तै महत्वपूर्ण छ। देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला यही चुनावले गर्नेछ । त्यसैले जनमतको भूमिका यसपटक निर्णायक रहनेछ।”
निर्वाचन आउन अब दुई हप्ता मात्र बाँकी रहँदा शीर्ष नेताहरूको दौडधुप बढेसँगै राजनीतिक सरगर्मी थप उत्कर्षमा पुगेको छ ।
















