Logo

७ फाल्गुण, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रजातन्त्रको वास्तविक सार्थकता नागरिकको जीवनमा देखिनुपर्नेमा जोड दिँदै युवा शक्तिको उपेक्षा गरेर राष्ट्रमा शान्ति र स्थिरता असम्भव रहेको बताएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा टुँडीखेलस्थित सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई यो आम सर्वसाधारणको मुहारमा देखिने सन्तुष्टि र निश्चिन्ततामा प्रतिबिम्बित हुनुपर्ने धारणा राखिन् । युवाहरूमा निहित ऊर्जा, परिवर्तनको चाहना र बेथिति विरुद्धको ‘नैतिक क्रोध’ लाई राज्यले बुझ्न सक्नुपर्ने उल्लेख गर्दै उनले नातावाद, कृपावाद र भ्रष्टाचार जस्ता विकृतिलाई युवा पुस्ताले किमार्थ स्वीकार नगर्ने चेतावनी समेत दिइन् । असन्तोषलाई दबाउनु भन्दा पनि त्यसलाई सही ढङ्गले सम्बोधन गरेर मात्रै मुलुक समृद्धिको बाटोमा अघि बढ्न सक्ने उनको जिकिर थियो ।

आगामी निर्वाचनको तयारीका सन्दर्भमा बोल्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य परिचालन गरेको स्पष्ट पारिन् । नेपालको निर्वाचन इतिहासमा २०१५ साल फागुन ७ गतेको ऐतिहासिक सन्दर्भलाई स्मरण गर्दै उनले यस पटकको निर्वाचनले मुलुकका लागि नयाँ युगको ढोका खोल्ने विश्वास व्यक्त गरिन् । निर्वाचनमार्फत आउने नयाँ संसद् र सरकारले लोकतन्त्रलाई थप जनउत्तरदायी, नतिजामुखी र जीवन्त तुल्याउने भन्दै उनले स्वस्थ राजनीतिक संस्कार र सामाजिक न्यायका लागि सबैलाई एकजुट हुन आह्वान समेत गरिन् ।

यसैगरी, प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई प्रक्रियाको जञ्जालमा मात्र सीमित राख्न नहुने तर्क गर्दै यसले ठोस परिणाम दिनुपर्नेमा जोड दिइन् । विधिको शासनको महत्त्वबारे चर्चा गर्दै उनले प्रक्रियाका नाममा नागरिकलाई सास्ती दिनु वा ढिलासुस्ती गर्नु लोकतन्त्र नभई बेथिति भएको टिप्पणी गरिन् । भदौ २३ र २४ गतेका घटनापछि गठित वर्तमान अन्तरिम सरकारले जेनजी आन्दोलनका भावनालाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले सुशासन र पारदर्शितालाई व्यवहारमै उतार्न सरकार लागिपरेको दाबी गरिन् ।

असामान्य परिस्थितिमा शान्ति सुव्यवस्था कायम गर्दै तोकिएकै समयमा विश्वसनीय निर्वाचन गराउनु नै सरकारको मुख्य कार्यादेश रहेको र सोही बमोजिम काम भइरहेको उनले स्पष्ट पारिन् ।


सम्बन्धित समाचार
भर्खरै